इलाम २ उपनिर्वाचन : उम्मेदवारहरुले चाहेको धर्मगुरुको आशीर्वाद


वैशाख ८, इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ। विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम–२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ। चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन्।

मत विभाजन हुने वा काटाकाट हुने अनुमान गरिएको यसपालीको उपनिर्वाचनमा सदाझंै किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको निजी आश्रम रहेको माङसेबुङको लारुम्बा क्षेत्र विशेष चासोका साथ हेरिएको छ। चुनाव नजिकिएसँगै किरात धर्मगुरुको आशीर्वाद लिन र भेटदर्शन गर्न उम्मेदवारहरु धाइरहेका छन्। करिब ४ हजार ६ सय एकछापे ‘भोट बैंक’ मानिएको धर्म गुरुको क्षेत्रबाट उम्मेदवारहरुले ठूलो अपेक्षा गर्ने गरेका छन्।

चुनाव नजिकिएसँगै केन्द्रीय नेताहरु पनि गुरुको निवास पुग्ने गरेका छन्। उपनिर्वाचनकै सिलसिलामा इलाम पुगेका कांग्रेस नेता डा.शेखर कोइरालाले गुरुलाई भेटेर कांग्रेसको अवस्थाबारे बताए। गुरु र कोइरालाबीच देशको अवस्थाबारे पनि मन्थन भएको थियो । भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए।

गिरिजाप्रसाद कोइराला तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङदेनले कोइरालालाई भनेका थिए,‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन। अब तपाइँले जिम्मेवारी लिनुपर्छ।’ जवाफमा नेता कोइरालाले आफू यति बेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए। कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङदेनको आशीर्वाद लिन आएको बताएका थिए।

डा.कोइरालापछि पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गुरुसँग भेट गरेका छन्। कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु र पूर्वमन्त्री तथा सांसद खिनु लङवालाई लिएर आश्रम पुगेका खनालले घुमाउरो पारामा सहयोगको याचना गरेका थिए। शीर्ष नेताहरु मात्र होइन उम्मेदवारहरु पालैपालो गुरु आश्रम धाइरहेका छन्। तर गुरुले कसैलाई पनि सहयोग गर्ने बचन दिएका छैनन्। उनी कुनै दल र नेतालाई खुलेर समर्थन जनाउँदैनन्। उनले अवस्था हेरेर निर्णय लिने गरेका छन्।

नेताहरुले गुरु दर्शन गरे वा माङगेन्ना गरे शिर उँचो हुने र शिर नढल्ने धार्मिक विश्वास छ। किरात धर्मगुरु फाल्गुनन्दकै अवतार मानिने आत्मानन्द आफ्नो क्षेत्रमा राम्रो पकड जमाएर बसेको भएपनि गुरु निकटका मतदाताले गुरुकै आदेश पालना गरेर मत खसाल्ने गरेको स्पष्ट तथ्यांक छैन। किरात धर्म, संस्कृति जगेर्ना र आश्रम रहेको क्षेत्रमा पूर्वाधार विकासका काममा सघाएका नेताहरुप्रति बढी नरम हुनेगरेका गुरुले कसैलाई पनि मत दिन आदेश दिने गरेको थाहा नपाएको स्थानीय बताउँछन्। जसका कारण पनि उनी सबैका प्रिय बनेका छन्।

अढाइ दशकदेखि सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएको स्वर्गीय सुवासचन्द्र नेम्बाङले गुरुकै आशीर्वादबाट परिणाम आफ्नो पक्षमा पार्दै आएको बताइएपनि त्यसमा सत्यता रहेको पाउन मुस्किल छ। गत स्थानीय तह निर्वाचनमा माङसेबुङ ५ बाट राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार नरेन्द्रकुमार राई प्यानलसहित विजयी भएका थिए। उनलाई कांग्रेस, माओवादीलगायतको साथ थियो। एमालेलगायत अन्य उम्मेदवार पराजित भएका थिए।

विशेषगरी गुरुका अनुयायीहरुले उक्त क्षेत्रमा भइरहेको विकास निर्माणमा सघाइरहेका नेताहरुप्रति बढी झुकाव राख्ने गरेको पाइन्छ। दशकौंदेखि पिछडिएको उक्त क्षेत्रमा विकास निर्माणका कामहरु सोचे अनुरुप हुन सकिरहेका छैनन्।

विश्वभर छरिएका किरात धर्मावलम्बीको मुख्य धार्मिक केन्द्र मानिएको माङ्सेबुङ विकासका हिसाबले पछाडि छ। पटक पटक सोही क्षेत्रबाट विजयी हुँदै आएका स्वर्गीय नेम्वाङको कार्यकालमा पनि भरपर्दो काम नभएको स्थानीयको गुनासा छन्।

राजनीतिक दलका नेता–कार्यकर्ताले चुनावका बेला गुरुलाई ‘अलि बढी नै आदर’ गर्ने गरेको स्थानीयको अनुभव छ। गुरुको मन जित्न उम्मेदवारहरुले अनेक उपाय लगाउने गरेका छन्। मांगेना समिति र किरात धर्म तथा साहित्य उत्थान मञ्चलाई प्रभावमा पार्न उम्मेदवारहरुले अधिकतम प्रयोग गर्ने प्रयास गर्ने गरेका छन्।

हरेक मंसिर १८ मा धर्मगुरु लिङदेनको जन्मोत्सवको औपचारिक कार्यक्रम उद्घाटन गर्न बर्सेनि देशका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदलगायत पुग्ने गरेका छन्। माओवादी सशस्त्र द्वन्द्वका बेला लारुम्बाबासीले चरम सास्ती व्यहोरेका थिए।

तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापतिगिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्तिप्रक्रियामा ल्याएपछि गुरु र गुरुका अनुयायीहरु कांग्रेसप्रति नरम देखिए पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने गरेका नेम्वाङले फाल्गुनन्दलाई आफ्नो पहलमा राष्ट्रिय विभूति घोषणा गरेको भनेर मतदाता प्रभाव पार्ने गरेका थिए। तर यसपालीको परिस्थिति बिलकुलै भिन्न रहेको स्थानीय पत्रकार सचित राई बताउँछन्।

हुनत धर्मगुरुप्रति सामीप्यता बढाउन उम्मेदवारहरुले विभिन्न गतिविधि गर्ने गरेका छन्। कांग्रेस उम्मेदवार डम्बर खड्काले गुरु र धर्मगुरुपत्नी साँवा पवित्रहाङमालाई बृहत् अभिनन्दन नै गरेका थिए। धर्मगुरुको ६८औं नुमाङगेन्ना तथा धर्मगुरुपत्नीको ६६औं जन्मोत्सवको अवसरमा भव्य समारोहबीच अभिनन्दन गरिएको थियो।

विश्व शान्ति, मानव एकता, मानवप्राणी एवं सृष्टि जगतकै रक्षाको लागि महान अभियानमा सञ्चालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपि र साहित्यको प्रचारप्रसारमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको खड्काले बताए।

गुरु आश्रम भएको आसपासमा किरात समुदायको बाक्लो बस्ती छ। आश्रम आसपास मदिरा, मासु, खैनी, चुरोट, सूर्ती सबै निषेध छ। २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलो पटक आश्रम स्थल पुगेका थिए। त्यसपछि निरन्तर विशिष्ट व्यक्तिहरु आश्रम पुगिरहेका छन् । २०३४ देखि गुरु लिङदेन लारुम्बामा बसोबास गर्दै आएका छन्। जातीय, वर्गीय, लिंगीय, विभाजनका विरोधी गुरु शान्तिका प्रवर्धक मानिन्छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?