क्रान्ति र परिवर्तनका पक्षधरहरु एकठाउँ हुनैपर्छ : प्रधानमन्त्री प्रचण्ड
वैशाख १०, काठमाडौं । प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता, सहमति र समझदारीबाट मात्रै देशमा ठूला ठूला राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गरेका छन्।
नेकपा स्थापनाको ७६ बर्ष पुगेको अवसरमा एमालेले सोमबार आयोजना गरेको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले एउटा दल विशेष वा नेताको मात्रै योगदानले परिवर्तन सम्भव नभएकाले सामूहिक समझदारी र एकता आजको आवश्यक्ता भएको बताए।
‘हामी आपसमा एकताबद्ध नहुँदा, समझदारीका साथ अगाडि बढ्न नसक्दा ३० वर्षसम्म निरङ्कुश पञ्चायती, तानाशाही शासन सहनुपर्यो। हामी सबैले यो ऐतिहासिक तथ्यलाई गहिरोसाथ आत्मसाथ गर्नपर्छ। त्यसैले सामूहिक समझदारी र एकताको बलमा नै संघीय लोकतान्त्रिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सक्छौं,’उनले भने।
प्रत्येक ठूला क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले क्रान्ति र परिवर्तनका पक्षधरहरु अझै एकताबद्ध हुनुपर्ने बताए।
उनले जे जति उपलब्धी हासिल भएका छन् त्यो एकताको बलमा प्राप्त भएको उल्लेख गरेका उनले भने,‘जतिबेला हाम्रो एकता टुट्छ, हामी कमजोर भएका छौ। आजको विशेष दिनमा राजनीतिक दलहरुको बीचमा सहमतिको एउटा नयाँ यात्रा सुरु गर्ने दिन बनोस । हामी एकजुट हुँदा देशमा उत्सवको अवस्था बनेको थियो तर हामी विभाजित भयौं हामीलाई तितो महशुस भयो।’