अभ्यास खेलका लागि बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार तेस्रो जित
अभ्यास खेलका लागि बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित दर्ता गरेको छ ।
शुक्रबार राति भएको तेस्रो अभ्यास खेलमा नेपालले बेलायतको क्रिकेट क्लब कन्फ्रेन्सलाई चार विकेटले हराएको हो । कन्फ्रेन्स क्लबले प्रस्तुत् गरेको २ सय २७ रनको लक्ष्य नेपाली टोलीले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्यायो । नेपालका कप्तान पारस खड्काले ६७, अनिल मण्डलले ४३, ज्ञानेन्द्र मल्लले ३६, शरद भेषवाकरले १९, राजु रिजालले नटआउट १७ तथा राजेश पुलामीले नटआउट १६ रन बनाए । कन्फ्रेन्स क्लबका लुके च्याम्पम्यानले तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्लबले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले २/२ तथा पारस खड्का र करण केसीले १÷१ विकेट लिए । कन्फ्रेन्सका स्टिभ सिलउडले ६७ तथा सागर पटेलले ६५ रन बनाए ।
यसअघि बुधबार फ्रि फोरेस्टर क्लबसँग भएको ४० ओभरको खेलमा नेपाल १ सय २९ रनले विजयी भएको थियो । यस्तै बिहीबार भएको ट्वेन्टी–ट्वेन्टी खेलमा नेपालले इन्डियन जिमखानालाई २० रनले हराएको थियो ।
नेदरल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसीपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा खेल खेल्दै छ । अब साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसीसीबीच बेलायतको लड्स मैदानमा खेल हुने छ ।