टर्कीमा भएको सैन्य कू को प्रयास असफल, २६५ सय जनाको मृत्यु, ३ हजार पक्राउ (अपडेट)


Turkey

टर्कीमा सेनाको एक समुहले गरेको सैन्य कू को प्रयास नियन्त्रणमा लिइएको सरकारी पक्षले जनाएको छ । राष्ट्रपति रिसेप तैयिप एर्दोगानले सैन्य कु को प्रयासलाई पूर्णरुपमा नियन्त्रण लिइएको दाबी गर्नुभएको छ ।
सैन्य कू को प्रयासलाई राजद्रोह भन्दै राष्ट्रपति एर्दोगानले आफ्नो सरकारले नियमित काम गरिरहेको जिकीर गर्नुभएको छ । टर्कीस सेनाको एउटा समूहले स्थानीय समय अनुसार रातभर राजधानी अंकारा, इस्लानबुललगायतका शहरमा बन्दुक र विष्फोट पदार्थ पड्काउँदै, ट्यांक र हेलिकोप्टरको समेत प्रयोग गरी सत्ता आफ्नो हातमा लिने प्रयास गरेको थियो ।

मध्य इस्तानबुको ताक्सिम स्वायरमा व्यापक झडप भएको छ भने विद्रोही समुहले उडाएको हेलिकोप्टर सरकार समर्थित सेनाले खसालेको जनाइएको छ । काम चलाउ सैन्य प्रमुख उमिर डुनडारले सैन्य कू को योजना बनाउने २ सय ६५ जना मारिएको र ३ हजार विद्रोही सैनिक पक्राउ परेको बताउनुभयो । उहाँले रातभरको हिंसामा अरु ९० जनाको मृत्यु भएको र २ हजार ७ सय जना घाइते भएको जानकारी दिनुभयो । यद्यपी सेनाका प्रमुखलाई उद्धार गरिए पनि धेरै सैन्य कमाण्डर अझैलाई कु को प्रयास गर्ने समुहले बन्दी बनाएको भन्दै उहाँले सचेत गराउनुभएको छ ।

अंकारामा रहेको संसद् भवन र राष्ट्रपति निवासमा आक्रमण गरिएको थियो । संसद् परिसरमा कम्तिमा एउटा बम विष्फोट गराइए पनि सांसदहरु सुरक्षित रहेको जनाइएको छ । करिब २ सय सेनाले सैन्य मुख्यालय छाडेर प्रहरी समक्ष आत्मसमर्पण गरेको सरकारी समाचार एजेन्सी एनाडोलुले जनाएको छ । अंकारा र अर्को मुख्य शहर इस्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन भएका थिए ।

एक टिभी स्टेसनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका थिए । उनीहरुले टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरेका थिए । सैन्य कु मा संलग्न रहेका सेनाले आत्पसमर्पण गरेपछि सरकार समर्थित जनताले उनीहरुलाई कुटेको र विभिन्न सडकमा हतियार सैन्य सामग्री बेवारिसे बनेको अन्तर्राष्ट्रिस सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । सैन्य कू को असफल प्रयासमा कसको संलग्नता छ भन्ने खुल्न सकेको छैन ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?