कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
वैशाख २७, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ। सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।
पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो।
स्वर्गीय गुरुङप्रति शोक प्रस्ताव पारित गर्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए। ‘पार्टीका नेता, पूर्वमन्त्री सुर्यमान गुरुङको निधन भएको विषयमा छलफलका लागि सभापतिजीले आकस्मिक बैठक राख्नुभएको छ,’ उनले भने, ‘बैठकले शोक प्रस्ताव पारित गर्नेछ । त्यसपछि आजै उहाँको दाहसंस्कार गर्ने कार्यक्रम छ।’
उनका अनुसार सम्भवतः बैठकले शोक प्रस्ताव पारित गरेपछि बिहीबार गर्ने भनिएका पार्टीका बैठक र कार्यक्रमहरु समेत स्थगित हुनेछन्।
गुरुङको मंगलबार उपचारको क्रममा काठमाडौंको हिमाल अस्पतालमा निधन भएको थियो। १८ महिनादेखि ओछ्यान परेका उनी बाथ र सुगरका बिरामी थिए। विक्रम संवत १९९७ सालमा जन्मिएका गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गरेका थिए। त्यसपछि पञ्चायत विरुद्धको आन्दोलनमा लागेर भारतमा निर्वासन जीवन समेत बिताएका उनी पछि पञ्चायतमा लागेर २०३९ सालदेखि ०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको सभापति समेत भए। उनी ०५६ सालमा ताप्लेजुङबाट कांग्रेसको उम्मेदवार थिए।
२०६४ मा भने उनी माओवादीका राम कार्कीलाई पराजित गर्दै प्रतिनिधिसभाको सदस्य बने। २०७० सालमा कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार र एकपटक स्थानीय विकासमन्त्री बनेका थिए। उनले करिब १० वर्ष कांग्रेसको ताप्लेजुङ जिल्ला सभापति भएर काम गरेका थिए।
गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । छोराहरु विदेशमा भएका कारण मंगलबार निधन भएका उनको बिहीबार मात्रै दाहसंस्कार गर्न लागिएको हो।