संसदीय छानविन समिति गठनमा कांग्रेस अडिग


वैशाख २८, काठमाडौं । नेपाली कांग्रेस संसदीय छानविन समिति गठन गर्नुपर्ने बटमलाइनमा अडिक देखिएको छ । सहकारीको रकम अपचलन सम्बन्धीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग कायम राखेको हो।

कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सहकारीमा उनको संलग्नताको प्रमाण रहेको जिकिर गर्दै सो सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकले उक्त मुद्दा अब कांग्रेसको मात्र नभएर सम्पूर्ण जनताको चिन्ता, चासो र सरोकारको विषय भइसकेको उनले बताए। यसअघि यसै विषयमा आफ्नो मागको सम्बोधन नभई संसद् अन्त्य भएकाले शुक्रबार सुरु हुने संसद्को बैठकमा पनि सोही माग राख्ने प्रमुख सचेतक लेखकले जानकारी दिए।

साथै कांग्रेसले केही दिनदेखि देशका विभिन्न ठाउँमा भएका आगजनी तथा डढेलोबाट धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। आगजनी तथा डढेलो नियन्त्रणका साथै विपद्को यस घडीमा क्षति पुगेका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै आगजनीमा परी मृत्यु भएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?