गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हरायो, प्लेअफ पुग्ने सम्भावना अझै कायमै


वैशाख २९, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गर्दै गुजरात टाइटन्सले प्लेअफ होडमा आफूलाई कायमै राख्न सफल भएको छ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३१ रनको योगफल तयार पारेको थियो। जवाफमा चेन्नईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रनमा समेटियो। हारपछि चेन्नईको प्लेअफ पुग्ने बाटो कठिन भएको छ। अब बाँकी रहेका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्दा मात्रै प्लेअफ पुग्ने बाटो खुल्ने छ।

चेन्नई सुपर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपनि गुजरात टाइटन्सले राम्रो सुरुवात गरेको थियो। गुजरातका शुभमन गिल–साई सुदर्शनको जोडीले पावरप्लेमा विकेट जोगाएर ५८ रन बनाए।

गिल र सुदर्शनले आ–आफ्नो अर्धशतक पूरा गरे र त्यसपछि शतक बनाउन पनि सफल भए। यस क्रममा गुजरातले १० औं ओभरमा १०० र १७ औं ओभरमा २०० रनको अंक पार गरेको थियो। यो साझेदारी १८औं ओभरमा टुंग्यिो। सुदर्शनले शतक पछि ५१ बलमा १०३ रन बनाएर आउट भए। यस क्रममा उनले आईपीएलमा सबैभन्दा छिटो एक हजार रन बनाउने भारतीय क्रिकेटरको कीर्तिमान बनाए।

शुभमन गिल पनि आफ्नो शतकपछि धेरै समय टिक्न सकेनन्। उनी १८ औं ओभरमा आउट भए। उनको ब्याटले ५५ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १०४ रनको पारी खेलेको थियो। शाहरुख खान पनि अन्तिम ओभरमा २ रनको व्यक्तिगत स्कोरमा रनआउट भए भने डेभिड मिलरले ११ बलमा १६ रन बनाएर नटआउट रहे। चेन्नई सुपर किंग्सका बलरले अन्तिम ५ ओभरमा ४१ रन मात्र दिएका कारण गुजरात टाइटन्सको टोली बलियो स्थितिमा रहे पनि २५० रनको स्कोरमा पुग्न सकेन । चेन्नईका तुषार देशपाण्डेले दुई विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपर किंग्सको सुरुवात निकै खराब रह्यो। ओपनिङमा आएका अजिंक्य रहाणे र रचिन रविन्द्र १–१ रन बनाएर आउट भएका थिए । कप्तान रुतुराज गायकवाडले खाता पनि खोल्न सकेनन्। कमजोर पारीलाई डेरिल मिचेल–मोइन अलीको जोडीले सम्हालेको थियो। दुवैले शतकीय साझेदारी गर्दै स्कोरलाई १०० भन्दा माथि पुर्याए। यो साझेदारी १३ औं ओभरमा मोहित शर्माले तोडेका थिए। मिचेल ३४ बलमा ७ चौका र तीन छक्का सहित ६३ रन बनाएर आउट भएका थिए।

मोइन अलीले पनि अर्धशतक बनाए । तर उनी पनि ३६ बलमा ५६ रन बनाएर १५ औं ओभरमा आउट भए। शिवम दुबेले २१ रन र रविन्द्र जडेजाले १८ रनको योगदान दिए। योसँगै एमएस धोनीले ११ बलमा २६ बलमा नटआउट पारि खेले पनि जित दिलाउन सकेनन्। गुजरात टाइटन्सका लागि मोहित शर्माले सर्वाधिक तीन र राशिद खानले दुई विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?