बागलुङमा जिप दुर्घटना


जेठ ३, बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप वडा नम्बर ५ को मस्तीमा बुधबार साँझ छ बजे आसपासमा दुर्घटनामा परेको हो।

साँझको समयमा दुर्घटना हुँदा घाइतेको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ। घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए।

दिउँसोदेखि पानी परेको र साँघुरो सडकमा ब्याक गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको हुनसक्ने विकले बताए। घाइतेहरुलाई प्राथमिक स्वास्थ्य चौकीमा पठाइएको उनको भनाइ छ।

“दुर्घटना भएको खबर पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा लागेको थियो, सबै घाइतेलाई उद्धार गरेर बुर्तिबाङ पठाइएको छ, अँध्यारो भएको हुँदा धेरैको अवस्था बुझ्न पाइएको छैन, बालबालिका र महिला बढी सवार हुनुहुँदो रैछ”, प्रहरी निरीक्षक विकले भने। दुर्घटनास्थल बुर्तिबाङ बजारदेखि करिब ८ किलोमिटर पश्चिममा पर्छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?