धर्मगुरु नै टर्कीको सत्ता कु मा संलग्न !
टर्कीमा प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबार राति सेनाको एक समूहले गरेको ‘कू’को प्रयास असफल भएपछि नागरिकले प्रजातन्त्रको रक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
इस्तानबुलसहित देशका मूख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर कू मा संलग्नलाई फाँसी दिन माग गरेका छन् । सेनाको समूहले गरेको कू को प्रयास २४ घण्टाभित्र असफल पारिएको थियो ।
संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षका धर्म गुरु फतहुल्लाह गुलेन कू गराउन संलग्न रहेकाले कारवाही गरिनुपर्ने बताए ।
अमेरिकाले धर्मगुरु गुलेनविरुद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ । धर्मगुरु गुलेनले भने कू मा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।
यसैबीच कू को प्रयास असफल भएपछि दुई हजार ८ सय ३९ सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनिक जर्नेल पनि छन् । यसैगरी सरकारले दुई हजार सात सय ४५ जना न्यायाधीशलाई बर्खास्त गरेको छ ।
शुक्रबार राति सेनाको एक समूहले गरेको कू को प्रयासपछि भएको झडपमा सर्वसाधारण नागरिक र प्रहरी गरी एक सय ६१ जनाको मारिएका छन् । यस्तै कू मा संलग्न एक सय चार जना सैनिक पनि मारिएका छन् ।
एक चार ४ सय ४० जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री बिनाली यिल्डिमिरले कू को प्रयास टर्कीको प्रजातान्त्रिक इतिहासमा कालो धब्बा रहेको बताए ।
टर्कीमा पहिलो पटक सन् १९६० मा युवा सैन्य अधिकारीहरुले चेन अफ कमाण्ड बाहिर बसेर प्रजातान्त्रिक सरकारविरुद्ध सैन्य कू गरेका थिए । त्यसपछि सन् १९७१, १९८०, १९९७ मा विभिन्न नाममा सैन्य कू गरिएका थिए ।