गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट
जेठ ७, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय छानविन समिति गठनमा अडिग देखिएको छ।
सोमबार पार्टी सभापति एवम संसदीय दलका नेता शेर बहादुर देउवाको सभापतित्वमा संघीय संसद भवनको ल्होत्से हलमा बसेको दलको बैठकले आइतबार उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ।
‘नेपाल सरकारका गृहमन्त्री मानीय रवि लामिछानेले हिजो २०८१ साल जेठ ६ गते प्रतिनिधि सभामा बोल्नु भएको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीर रुपले लिएको छ। गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बसेको व्यक्तिले गरेको अशिष्ट, असत्य, भ्रामक, कपोकल्पीत, गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिको यो बैठक घोर निन्दा र भत्सर्ना गर्दछ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै कांग्रेसका विभिन्न नेताप्रति लक्षित गरी दिएको अभिव्यक्तिको छानविन, अनुसन्धान र विषय प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस खुला रहेकोपनि जनाएको छ।