बेलायतीमाथि नेपाली क्रिकेटरको सानदार प्रदर्शन, लगातार चौथो जित
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई १ सय ८१ रनले हराएको हो । नेपालले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । इस्टबर्नलाई कम रनमै सीमित बनाउन नेपालका सोमपाल कामीले तीन बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको नेपाली टोलीले मात्र तीन विकेट गुमाएर इस्टबर्नसामु ३ सय १ रनको लक्ष्य प्रस्तुत् गरेको हो । नेपालका विनोद भन्डारी र राजु रिजाल नट आउट रहे । विनोदले ६७ बल खेल्दै ७७ रन बनाए भने राजु रिजालले ६० बल खेल्दै ६० रन बनाए ।
त्यस्तै ओपनर अनिल मण्डलले ११० बलको सामना गर्दै ७३ रन । अर्का ओपनर सुवास खकुरेल १२ बल खेलेर ६ रन बनाउँदै क्याच आउट भएका थिए । सरद भेषवाकरले ६७ बल खेल्दै ६० रन बनाएर आउट भएका थिए ।