लगानीकर्ताले चासो नदिँदा संकटमा ‘रामायण’


जेठ १०, मुम्बई । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ। हाल छायांकनमा रहेको बताइए पनि तीन दिन यता यो फिल्म मुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको छैन। धेरैले फिल्म अब बन्द हुने अवस्थामा पुगेको दाबी गरेका छन्।

निर्माता मधु मन्टेनाले निर्देशक नितेश तिवारीसँग मिलेर फिल्म ‘रामायण’को काम सन् २०१९ बाट सुरु गरेका थिए। त्यो समयमा यो फिल्म तीन भागमा निर्माण गरिने घोषणा भएको थियो। घोषणा अनुरुप फिल्मको काम सुरु भएको भनिए पनि लगानीकर्ताको अभावमा आधिकारिक रुपमा काम अगाडि बढ्न सकेको छैन।

केही दिनअघि मात्र फिल्म दुई भागमा निर्माण हुने खबर बाहिर आएको थियो। अहिले फिल्मको सम्पूर्ण कारोबार प्राइम फोकस र उनीसँगै अभिनेताबाट निर्माता बनेका यशले सम्हालिरहेका छन्।

फिल्मका हालका निर्माताले कानूनी विवादबाट बच्न र आफ्नो सम्बन्धलाई अझ खराब हुनबाट जोगाउनका लागि भइरहेको फिल्मको काम पनि रोक्न सुझाव दिएका छन्।

केही महिना अघि फिल्म ‘रामायण’को लुक टेस्टका लागि लिइएको तस्वीर र भिडियोमार्फत फिल्मको सुटिङको प्रचार भइरहेको भन्दै प्रचार गरिएको थियो। निर्माण पक्षले भिडियो र तस्वीरको प्रचार गरेर देशी विदेशी लगानीकर्ता आकर्षित गर्ने उद्देश्य राखे पनि फिल्मका लागि ठूलो स्टुडियो वा विदेशी लगानीकर्ताले रुची देखाएका छैनन्।

फिल्मको बजेट सय मिलियन बताइएको छ। फिल्म रिलिज गर्नका लागि प्राइम फोकसले केही विदेशी कम्पनीसँग कुराकानी गरे पनि कसैले चासो देखाएका छैनन्। लगानीकर्ता नभएकै कारण निर्माण पक्षले हालसम्म कलाकार र प्राविधिकको नाम आधिकारिक रुपमा सार्वजनिक गर्न सकेका छैनन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?