काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदली, आज यी प्रदेशमा हुनेछ वर्षा
जेठ ११, काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने विभागले जनाएको छ। आज पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।