व्यक्तिगत आकांक्षामा बजेट बन्दैन : पूर्व अर्थमन्त्री
जेठ ११, काठमाडौं । एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट देशको आर्थिक अवस्थामा आधारित हुनुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८१–०८२ को बजेटको कार्यादेशबारे छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले देशको वस्तुगत अवस्था र आर्थिक अवस्थामा आधारित बजेट बन्नुपर्ने बताएका हुन्।
उनले भने, ‘यो बजेट मैले बुझ्दाखेरि मुलभूत रुपमा हाम्रा इच्छा र आकांक्षामा आधारित हुन सक्दैन। हाम्रो देशको वस्तुगत अवस्था के छ ? आर्थिक अवस्थाको आधारमा नै बजेट निर्माण गर्ने हो। हाम्रा स्रोत, साधन र सम्भावनाहरु के छन्, त्यसकै सापेक्षतामा बजेट निर्माण गर्ने हो। व्यक्तिगत चाहनाहरु बजेटमा अट्न सक्दैनन्।’
नयाँ बजेट मुख्यतः सरकारको नीति तथा कार्यक्रममा आधारित भएपनि सोह्रौं पञ्चवर्षीय योजना र दिगो विकासको लक्ष्यलाई सम्बोधन गर्नेगरी बन्नुपर्ने पौडेलको धारणा छ। आगामी आर्थिक वर्षको मुख्य योजना सोह्रौं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य हो। यसका बाबजुद बजेटको मुख्य आधार सरकारको नीति तथा कार्यक्रम नै हो,’पौडेलको भनाइ छ।