‘रेमल’ चक्रवातसँग सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह


जेठ १५, काठमाडौं । भारतको पश्चिम बंगाल र बंगलादेशमा असर पुर्याउने गरी आएको ‘रेमल’ चक्रवातले नेपालका विभिन्न स्थानमा पनि अप्रत्यक्ष प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

‘रेमल’ चक्रवातले नेपालमा प्रत्यक्ष प्रभाव नपारे पनि सोमबार र मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदलीमा अप्रत्यक्ष प्रभाव पार्ने महाशाखाले जनाएको छ।

बंगालको खाडीमा विकसित भइ भारततर्फ बढेको न्यून चापीय प्रणाली दुई दिनअघि चक्रवातमा रुपान्तर भएपछि अहिले शक्तिशाली बनेको बताइएको छ। चक्रवातको नाम ‘रेमल’ भनिएको छ। यो चक्रवात भारतको पश्चिम बंगाल र बंगलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको मौसमविद्हरु चर्चा गरिरहेका छन्।

उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात सोमबार राति बंगलादेश र पश्चिम बंगाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

कोशी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने जनाइएको छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि महाशाखाले औंल्याएको छ।

तराईका भूभागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले सतर्क रहन महाशाखाले सूचित गरेको छ। बागमती प्रदेशको केही स्थान मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको केही स्थान मेघगर्जन र चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशखाले सचेत गराएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?