संसदीय समिति गठनबारे देउवाले बोलाए बिपक्षी दलको बैठक
जेठ १५, काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनबारे सत्तापक्षका दलहरूसँगको बार्ता सकारात्मक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपक्षी दलहरूको बैठक बोलाएका छन्।
सो प्रकरणमा संसद्मा विरोधका क्रममा साथ दिएका दलहरुसँग परामर्श गरेर मात्रै निर्णय लिने गरी सभापति देउवाले बैठक बोलाएका हुन्। बैठक अहिले बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ। संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको कांग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ।
बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ।