देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ २०, काठमाडौँ । नेपालगञ्जमा यही जेठ १७ गते वर्षकै सबैभन्दा धेर ४४ दशमलव दुई डिग्री सेल्सियस तापक्रम भयो। त्यसपछि धनगढीमा ४४ दशमलव एक डिग्री मापन भएको तापक्रम त्यसको दुई दिनपछि शनिबार देशभरकै तापक्रम घटेको छ।
ठाउँठाउँमा वर्षा भएकाले अधिकतम तापक्रममा गिरावट आएको जल तथा मौसम विज्ञमान विभागले जनाएको छ। विभागले शनिबार साँझ ६ बजे अद्यावधिक गरेको तापक्रमको विवरणअनुसार रेकर्ड ब्रेक गरेको नेपालगञ्जको तापक्रम आज ४१ दशमलव चार डिग्रीमा झरेको छ। यस्तै धनगढीमा ४० दशमलव सात डिग्री रहेको छ।
सोही दिन पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन भएकोमा शनिबार झरेर पोखरामा अधिकतम तापक्रम ३१ दशमल पाँच र काठमाडौँमा ३२ डिग्री रहेको छ। जेठ १७ गते बिहीबार विराटनगरमा ४१ डिग्री थियो आज त्यहाँ ३४ मा झरेको तथा दाङको घोराहीमा ४० दशमलव दुई डिग्री रहेकामा शनिबार ३५ दशमलव दुई डिग्रीमा झरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको देशभरको तापक्रम मापनको विवरणअनुसार शनिबार दीपायलमा ३९ दशमलव चार, वीरेन्द्रनगरमा ३८ दशमलव एक, डडेलधुरामा ३१ दशमलव चार, जुम्लामा २८ दशमलव नौ, भैरहवामा ३७ दशमलव दुई, सिमरामा ३६ दशमलव छ, ओखल्ढुङ्गामा २८, ताप्लेजुङमा २६ दशमलव आठ र धनकुटामा ३० दशमल पाँच डिग्री अधिकतम तापक्रम मापन भएको छ।
यस्तै जोमसोममा, २२ दशमलव पाँच, धरानमा ३३ दशमलव छ, लुम्लेमा २५ दशमलव पाँच, जनकपुरमा ३५ दशमलव आठ र दोलखाको जिरीमा २४ दशमलव चार डिग्री तापक्रम मापन भएको महाशाखाले जानकारी दिएको छ।