टी–२० विश्वकप समीक्षा : किन लोलाए नेपाली खेलाडी ?
जेठ २३, काठमाडौं । सन् २०१४ को ठीक १० वर्षपछि टी–२० विश्वकपमा नेपालको पुनरागमन सुखद् बन्न सकेन। गएराति अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरि रंगाशालामा नेपालले नेदरल्याण्ड्ससँग विर्सनलायक पराजय व्यहोर्यो।
चिरपरिचित एसोसिएट प्रतिद्वन्दी नेदरल्याण्ड्ससँग पराजित हुनुका प्राविधिक कारण जे भएपनि ईन द फिल्डमा फिल्डिङ र ब्याटिङ नै मुख्य कारण देखियो। नेपालले दिएको एकसय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १८ ओभर चार बलमा मात्र चार विकेट गुमाएर भेट्टायो।
लय विर्सिएका ओपनरद्वय कुशल भूर्तेल र आशिफ सेखबाट विश्वकपको पहिलो खेलबाट जस्तो प्रदर्शनको आशा गरिएको थियो त्यस्तो सुरुवात हुन सकेन। नेपाली खेलाडी आफूसँग भएको सीप र क्षमता समेत बिर्सिएर लोलाएजस्ता देखिए।
ग्राण्ड प्रेरी क्रिकेट रंगशाला नेपाली जर्सी र नेपालको झण्डाले झकिझकाउ थियो। काठमाडौंस्थित टीयू क्रिकेट मैदानको झल्को दिनेगरि त्यहाँ नेपाली दर्शकको उपस्थिति थियो।
नेदरल्याण्ड्सका सर्मथकमाथि जसरी नेपाली दर्शकले दबदबा बनाएका थिए, मैदानभित्र खेलाडीहरुले त्यो हर्षलाई खुशीमा बल्न सकेनन्। अझ पछिल्लो समयको क्रिकेट समर्थकको भाषामा भन्ने हो भने ‘हाम्रा खेलाडीले न खेल जिते, न त मन नै।’
राती ९ः१५ बाट सुरु हुनुपर्ने खेल ९ः४५ बाट सुरु भयो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती चरणबाट आफूलाई पिचमा टिकाउनुभन्दा पनि ठूलो स्कोर बनाउनतर्फ खेलाडीहरु तम्सिरहेका देखिन्थे। ओपनरद्वय भूर्तेल र आसिफ निर्भय देखिँदैनथिए र डट बलको दबाब पनि उत्तिकै देखिन्थ्यो।
ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन सुरु गर्यो। विकेट गुमाउनुमा पनि डट बलकै दबाब देखिन्थ्यो। दोस्रो ओभरमा बलिङ गर्न आएका स्पिनर टिम प्रिंगलको पहिलो बलमै कुशल भूर्तेलले चौका प्रहार गरे। लगत्तै दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा स्ट्राइक पाएका आसिफले लगातार बलमा रन जोड्न सकेनन्।
लगातार रन लिन नसकेपछि आसिफले ब्याटिङ अट्याक गर्न खेज्दा चार रनमा आफ्नो विकेट गुमाउन पुगे। त्यस्तै, लोगन भानबिकको चौथो ओभरको पहिलो बलमा कुशल भूर्तेल ७ रनमा एलबीडब्लू आउट हुन पुगे।
दुवै ओपनर आउट हुँदा नेपाल ३.१ ओभरमा १५–२ को अवस्थामा थियो। टी–२० क्रिकेटमा पावर प्लेको समयलाई रन जोड्ने मुख्य अवसरका रुपमा लिइन्छ। तर नेपालले त्यसको मौकाको फाईदा उठाउन सकेन। झन् सुस्त खेल्दै विकेट गुमाउँदै गयो। फलस्वरुप पावरप्लेमा नेपालले जम्मा २९ रन बनाएर दुई विकेट गुमाइसकेको थियो। अर्थात् नेदरल्याण्ड्सले नेपालमाथिको दबदबा सुरुदेखि नै कायम राखेको थियो।
बलियो योगफल बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले लगातार विकेट गुमाइरहँदा नेदरल्याण्ड्सको पक्षमा खेल गइसकेको थियो। पावर प्लेका ६ ओभरमा नेपाली खेलाडीहरुले २७ बल डट खेलेका थिए। ती डट बलमा एक–एक रन मात्र जोड्न सकेको भए केही अरुनै परिणाम पनि निस्कन सक्थ्यो।
दबाबकाबीच क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेलले ९४ को स्ट्राइट रेटमा बनाएको ३५ रन नै कुनैपनि नेपाली खेलाडीले दिएको ठूलो योगदान रह्यो। ३७ बलको सामना गरेका पौडेलले पाँच चौकाको मद्दतमा ३५ रन बनाएका थिए।
त्यसबाहेक अनिलकुमार साहले १२ बलमा ११ रन, कुशल मल्लले ९ बलमा ९ रन, दिपेन्द्र ऐरीले ६ बलमा १ रन, गुल्सन झाले १५ बलमा १४ रन, करन केसीले १२ बलमा १७ रन, सोमपाल कामी, सागर ढकाल र अभिनास बोहरा शून्य रनमा आउट भए।
पेभेलिएन, डग आउट र क्रिजमा रहने ब्याट्सम्यानले खेलेका डट बल यही पेरिफेरीमा थियो नेदरल्याण्ड्सविरुद्ध नेपालको खेल। नेपाललाई खेलमा फर्किन राम्रो साझेदारी आवश्यक थियो। तर मध्यक्रममा आएका ब्याट्सम्यान समेत त्यो प्रदर्शन गर्न चुके।
बलियो योगफलमा पुग्न एउटा सानदार साझेदारी आवश्यक पर्छ । तर, नेपालका ब्याटरले राम्रो साझेदारी पनि गर्न सकेनन्। तेस्रो विकेटलाई रोहित र अनिलले २७ बलमा जोडेको २५ रन नै नेपालको इनिङको नेदरल्यान्ड्सविरुद्धको सर्वाधिक ठूलो साझेदारी थियो। त्यसपछि आठौं विकेटका लागि करण र गुलशनले १७ बलमा २२ रनको साझेदारी गरेका थिए।
नेपाली ब्याट्सम्यानले खेलेका कुल ११६ बलमध्ये ६५ बल डट खेले। ठूलो योगफल बनाउनुभन्दा बल बाई रन बनाउन मात्र खोजेको भएपनि नतिजा केही फरक हुने आँकलन धेरैले गरिरहेका छन्।
नेपालले पिचको कण्डिसन बुझेर विकेट जोगाएर खेलेको भए नतिजा फरक आउन सक्ने खेल पत्रकार तथा लेखक नवीन अर्यालको भनाइ छ। उनी भन्छन्, ‘जसरी पानी परेर ढिलो गरी खेल सुरु भएको थियो। नेपाली खेलाडीहरुले पिचको म्यारिट बुझेर खेल्न सकेनन्। उनीहरु ठूलो स्कोर बनाउन उन्मूख देखिन्थे। जसका कारण छिटोछिटो विकेट गइरहेको थियो। जुन प्रकारको साझेदारी बन्नुपथ्र्यो, त्यस्तो साझेदारी बनाउन सकेनन्। नेदरल्याण्ड्सले जोगिएर खेल्यो। सहज जीत निकाल्यो।’
अबका खेलहरु पिचको म्यारिट बुझेर संयमित भएर खेले नेपालले अपेक्षित नतिजा निकाल्न सक्ने उनको प्रक्षेपण छ। अब नेपालले १२ जुनमा फ्लोरिडामा श्रीलंकासँग खेल्नेछ। त्यसपछि नेपाल वेष्टइण्डिज जाने छ। १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने छ।