मधेशमा मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत


जेठ २३, काठमाडौं । मधेश प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ। दलीय गठबन्धन फेरबदल हुँदा चार पटकसम्म सुरक्षित मुख्यमन्त्री सरोजकुमार यादव पाँचौ पटकमा पदमुक्त भएका छन्।

जनकपुरधामस्थित प्रदेश सभामा बुधबार उनको विश्वासको मतको पक्षभन्दा विपक्षमा बढी मत पर्दा सरकार ढलेको हो। सरकार जोगाउन ५४ मत चाहिनेमा प्रदेशसभामा उनको पक्षमा मात्र ५० र विपक्षमा ५३ मत परेको छ।

यादवलाई उनको दल जसपा नेपाल, कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् भने एमाले, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मत दिएका छन् । १०७ सदस्यीय प्रदेशसभामा बुधबार १०३ जनाको उपस्थिति थियो।

मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सांसद छन्।

राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका एक-एक जना छन्। जसपा संसदीय दलका नेता यादव गत पुसमा मा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको समर्थनमा गत पुसमा मुख्यमन्त्री बनेका थिए।

केन्द्रमा सत्ता समीकरण लगत्तै पार्टी विभाजन भएर उपेन्द्र यादव सरकारबाट बाहिरिएसँगै मधेश प्रदेश सरकारमा संकट सुरु भएको थियो। गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले यादव सरकारमाथिको समर्थन फिर्ता लिएका थिए।

संघीय सत्ता समीकरणसँगै जनमत पार्टीले मधेश सरकारको नेतृत्व लिन खोजेको छ। यसमा संघीय सत्ता गठबन्धन सहमत देखिँदा प्रदेश सरकारको नयाँ समीकरण बनेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?