भारतको प्रधानमन्त्रीमा मोदी तेस्रो कार्यकालका लागि नियुक्त
जेठ २५, नयाँ दिल्ली । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त भएका छन्। हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो।
एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गरेका थिए। उनले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दावी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अब नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने छन्। उनको सपथ ग्रहण समारोह आगामी आइतबार हुने भएको छ। यसअघि शुक्रबार पुरानो संसद भवनको सेन्ट्रल हलमा मोदीलाई एनडीएको नेता चयन गरिएको थियो।
एनडीए गठबन्धनको २९३ मध्ये भाजपा एक्लैको २४० सिट छ। २०१४ र २०१९ मा भाजपाकै बहुमत हुँदा एनडीए गठबन्धनलाई मोदीले वास्ता गरेका थिएनन्। यसपटक भने आफ्नो कार्यकाल जोगाउनका लागि उनले हरेक पटक एनडीएमा आबद्ध दलहरुलाई विश्वासमा लिइराख्नु पर्ने चुनौती भने थपिएको छ।
आइतबार हुने मोदीको सपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आतिथ्य ग्रहण गर्न जाने तय भएको छ। सपथग्रहणपछि प्रधानमन्त्री प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने छन्।