अफगानिस्तानले न्युजिल्याण्डलाई दियो १६० रनको लक्ष्य


जेठ २६, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्याण्डलाई १६० रनको लक्ष्य दिएको छ। प्रोभिडेन्समा जारी खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो।

अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो। अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए। १४.३ ओभरमा इब्राहिम जर्दान ४१ बलमा ४४ रनको पारि खेलेर आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए।

गुर्वाजलाई साथ दिन अज्मतुल्लाह ओमरजाई आएका थिए। यी दुई खेलाडीले २४ रनको मात्रै साझेदारी गरे। अज्मतुल्लाह १२ बलमा २२ रन बनाएर आउट भएका थिए। उनले दुई छक्का र एक चौका प्रहार गरे। मोहम्मद नावी गोल्डेन डकआउट भएपछि अफगानिस्तानले १७।४ ओभरमा टिमको स्कोर १३६ रन हुँदा तेस्रो विकेट पतन भयो।

कप्तान रासिद खान ५ बलमा ६ रन बनाउँदै रन आउट भए। उनले एक चौका प्रहार गर। एक छेउमा टिकेका रमनुल्लाह गुर्वाज १९.२ औं ओभरमा आउट भएका थिए। उनले ५६ बल फेस गर्दा पाँच छक्का र पाँच चौकाको मद्दतले ८० रनको शानदार पारि खेले। उनलाई ट्रेन्ट बोल्टले पभेलियन पठाएका थिए। न्युजिल्याण्डका माट हेनरी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिँदा लोकी फर्गुसनले एक विकेट हात पारे।

अफगानिस्तान लागतार दोस्रो जितको खोजिमा छ भने न्युजिल्याण्ड पनि पहिलो खेलमै जित निकाल्दै विश्वकप २०२४ को यात्रा सुरु गर्ने लक्ष्यमा छ। समूह सीमा अफगानिस्तानले पहिलो खेलमा युगान्डालाई पराजित गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?