अफगानिस्तानसँग न्युजिल्याण्ड ८४ रनले पराजित
जेठ २६, काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो जित निकालेको छ। शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको हो। अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १५.२ ओभरमा सबै विकेट गुमाए ७५ रनमा समेटियो। अफगानिस्तानले पहिलो पटक टी–२० मा न्युजिल्याण्डलाई पराजित गरेको हो।
खराब सुरुआत गरेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक १८ रन बनाउँदा माट हेनरीले १२ रन जोडे। अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्। ओपन फिन एलेन र मिचेल ब्रासवेल गोल्डेन डकआउट भएका थिए।
न्युजिल्याण्डको पारी ध्वस्त बनाउन अफगानिस्तानका फाजलहक फारुकी र रासिद खानले चार चार विकेट लिए। फारुकीले ३।२ ओभरमा १७ रन दिएका थिए भने रासिद खानले पनि ४ ओभरमा १७ रन खर्चिएर चार विकेट नै लिए। मोहमद नाविले दुई विकेट लिए।
प्रोभिडेन्समा खेल टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो। अफगानिस्तानले उत्कृष्ट सुरुआत गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो।
अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गर्दै खेललाई अघि बढाए। १४.३ ओभरमा इब्राहिम जर्दान ४१ बलमा ४४ रनको पारि खेलेर आउट भए। उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए।
गुर्वाजलाई साथ दिन अज्मतुल्लाह ओमरजाई आएका थिए। यी दुई खेलाडीले २४ रनको मात्रै साझेदारी गरे। अज्मतुल्लाह १२ बलमा २२ रन बनाएर आउट भएका थिए । उनले दुई छक्का र एक चौका प्रहार गरे। मोहम्मद नावी गोल्डेन डकआउट भएपछि अफगानिस्तानले १७।४ ओभरमा टिमको स्कोर १३६ रन हुँदा तेस्रो विकेट पतन भयो। कप्तान रासिद खान ५ बलमा ६ रन बनाउँदै रन आउट भए । उनले एक चौका प्रहार गर।
एक छेउमा टिकेका रमनुल्लाह गुर्वाज १९।२ औं ओभरमा आउट भएका थिए। उनले ५६ बल फेस गर्दा पाँच छक्का र पाँच चौकाको मद्दतले ८० रनको शानदार पारि खेले। उनलाई ट्रेन्ट बोल्टले पभेलियन पठाएका थिए।
न्युजिल्याण्डका माट हेनरी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिँदा लोकी फर्गुसनले एक विकेट हात पारे। लगातार दोस्रो जितका साथ अफगानिस्तान समूह सीमा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ।