सम्झौता कार्यान्वयनमा भारत गम्भीतापूर्वक लागेको छ : एस जयशंकर
जेठ २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त संघीय मन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री एस जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन्।
सोमबार प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको द्विपक्षीय भेटमा दुई देशबीचको आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको दाहाल सचिवालयले जनाएको छ।
जय शंकरलाई बधाई दिँदै दाहालले आगामी दिनमा दुई देशबीच रहिआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे। मन्त्री जय शंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएको दाहाल सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्रीका सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारीको सहभागिता रहेको थियो।