समाचार टिप्पणी : भैंसीको शरीरमा झिँगाको लात्ती
जेठ २९, काठमाडौं । महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन्। कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन। राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवेक सक्रिय गराउन हरप्रयत्न गरिरहन्थे।
बदलाको विषको घैला बोकेर हस्तिनापुर प्रवेश गरेका गान्धार नरेश शकुनी भाञ्जा दुर्योधनको महत्वाकांक्षामा मलजल गर्न किञ्चित पनि विलम्व गर्दैनथिए। दिदी गान्धारीलाई नेत्रहीन राजाकी पत्नी बनाउन मुख्य भूमिका खेलेका भीष्मको प्रतिज्ञासँग परिचित शकुनी कौरब र पाण्डवका कमीकमजोरीहरु बारे मनग्य जानकार थिए।
शकुनीको कुटिल चाल भलिभाँती अवगत भएका विदुर महाविपत्ती बोकेर हस्तिनापुरतिर बढिरहेको भविष्य देखिरहेका थिए। त्यसैले कसैगरेर राजालाई त्यसको सहयोगी नबन्न उनी हरतरहले रोक्ने प्रयाश गरिरहन्थे। उनीसँग यसमा सहयोगी हुन कोही पनि साथमा थिएन। महाज्ञानी भविष्यद्रष्टा भीष्मपितामह जानीजानी स्वयं विनाशकै पक्षमा थिए। उनी अहंकारी दुर्योधनको महारथी हुन आफ्नै वचनवध्दताले विवश थिए, असत्यको पक्षमा उभिन। विदुर सही छन् भन्ने जान्दाजान्दै पनि भीष्मपितामह दोबाटोमा उभिन विवश थिए।
विदुर महाराज धृतराष्ट्रको मुख थुन्न त सक्दैथिए । बरु परित्याग गर्न सक्थे दरबार, गरे पनि। यो उनको कठोर निर्णय थियो। विदुर हस्तिनापुर दरबारबाट सदाका लागि विदा भएको विष्मयकारी खबर कानमा परेपछि गंगापुत्र भीष्मले सिंहाशनमै बसेका राजा धृतराष्ट्र झपारेर सातो टिपे।
निरुपाय धृतराष्ट्र आफ्ना काकाबाउको खप्की खाएपछि दरबार त्यागेर वनबासमा रहेका पाण्डुपुत्रहरुकहाँ पुगेका विदुरलाई फर्काउन तयार भए। हस्तिनापुर नरेश धृतराष्ट्रले कसैले दिएको सुझाव स्वीकार गरेको यो एकमात्र घटना थियो । जो उनकै लागि अनिवार्य थियो, विकल्पहीन थिए उनी। विदुर उनका महामन्त्री मात्र थिएनन्, आउने जाने श्वास पनि थिए। विदुर हस्तिनापुर दरबारका मेरुदण्ड नै थिए । जसले तमाम संकट सहजै पार लगाएका थिए, केवल धर्मक्षेत्र कुरुक्षेत्रको रक्तरञ्जित युध्दबाहेक।
हजारौं वर्ष पुरानो महाभारत कथा समाजशास्त्र मानिन्छ। राजनीतका कुटिल षड्यन्त्र र चालबाजीहरुको प्रेरणा स्रोत पनि महाभारत नै ठानिन्छ। वर्तमान राजनीतिमा पनि शकुनी गुण भएका मानिसहरु नै सफल भएका छन् । चौसठमा बसेका धृतराष्ट्र र उनका भाईबन्धुहरु पराजीत भैरहेका छन्। सत्ताको हस्तिनापुर सिंहाशनमा विराजमान हुन असमर्थ पाण्डुपुत्रहरु वनबासमै रुमल्लिरहेका देखिन्छन्। शकुनीकै चलखेल छ राजनीतिमा।
मर्यादा राजनीतिको आभूषण मानिन्छ। जनमतले जुन स्थान दिएको छ त्यस स्थानमा मर्यादापूर्वक बसेर स्वधर्म निर्वाह गर्नु राजनीतिको स्वभाविक कर्म हो भनिएको छ। छुद्र टिप्पणी, मर्यादाहीन वहस र निन्दा आलोचना राजनीतिका आवश्यक तत्वहरु होइनन्। आज यसैलाई रुचाईएको देखिन्छ। सरकारको नेतृत्व गरिसकेका कतिपय नेताहरु मर्यादाको उतिसारो ख्याल गरिरहेका छैनन्। गाउँको अगुवा मानिएका व्यक्तिहरु नै बाटामा जथाभावी शौच गर्दै हिँड्छन् भने उनका पछिपछि हिँड्ने मानिस उसैगरी पदचाप पछ्याउन थाल्दछन्। यसले सिँगो समाजलाई नै छाडा बनाउनसक्छ। छाडा समाज थेत्तर हुन्छ । जहाँ थेत्तर चरीत्र भएका मानिसहरुको आवादी बढी हुन्छ त्यो समाज मानिसहरु बसेको समाज मानिँदैन।
हाम्रो देशका नेताहरुमा यस्तो सम्वेदनशीलता पाउन सकिँदैन। के बोल्न हुन्छ के बोल्न हुँदैन भन्ने मान्यता र विभेद उनीहरुको चेतनाको परिधिभन्दा निकै पर रहेको आभास हुन्छ। त्यस्तो थेत्तरो स्वभाव र प्रवृत्ति भएका नेताहरुलाई सचेत गराउन वौध्दिक वर्ग, सञ्चारमाध्यम र महाभारतका विदुर जस्ता शुभचिन्तकले प्रत्यक्ष परोक्ष रुपमा सुझाउ सल्लाह दिँदा उनीहरु भड्किने गरेका छन्। उल्टै सार्वजनिक सभाहरुमा शुभचिन्तकहरु कटाक्षको सिकार भैरहेका छन्।
संसद नै हेरौं, संसद किन संसद जस्तो भैरहेको छैन त ? संसदमा पनि कुनै अदृश्य शक्ति अवतरण गरेर नेतृत्व गर्ने त होइन नि। राजनीतिक दलहरु नै संसदका अंग हुन्। उनैले चुनेको नेता संसदको मुखिया बन्छ र दलीय सीमामाथि उठेर संसद सञ्चालन गर्छ भन्ने मान्यता रहीआएको छ। तर जुनसुकै दलहरु सत्ता प्रतिपक्ष र अन्य भूमिका हेरफेर भएपनि संसदले मर्यादाको आभूषण पहिरन पाएको देखिँदैन।
यहाँ पनि विदुर निरीह देखिन्छन्। जो जसले विदुरको भूमिका निर्वाह गरेका छन् उनीहरु हस्तिनापुरबाट अपमानित भएर निस्किएका छन्। नेपालको राजनीतिमा यही नियति दोहोरिँदै आएको छ। सत्ताको नेतृत्वमा पुगेका कृष्ण प्रसाद भट्टराई हुन् कि मनमोहन अधिकारी हुन्। नेपाली कांग्रेस र एमालेले दुवै नेताको मानमर्दन गरेका छन्। राजनीतिमा अत्यन्त नकारात्मक उदाहरण देशका मुख्य दुई दलहरुले नै स्थापित गरेका हुन्।
काठमाडौं महानगरपालिका प्रमुख बालेन साह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बीच हालै चलेको वाकयुध्द अमर्यादाको ताजा उदाहरण हो। ओलीलाई चर्चित अनियमितताको घटनासँग जोडेर आलोचना गर्ने अवसर महानगर प्रमुख साहले पाएका छन्। यसको सोझो जवाफ वा खण्डन गर्ने नैतिक साहस ओलीसँग देखिएन। जनताले दिएको दुर्लभ शक्तिको अपचलन गरेर ओलीले देशकै शीर झुक्नेगरी भएको अनियमिततामा आफूलाई प्रत्यक्ष सहभागी गराएको तथ्यहरु एकपछि एक प्रकाशमा आई नै रहेका छन्। यही कारण हो महानगर प्रमुखले एकजना पूर्वप्रधानमन्त्रीलाई सार्वजनिक रुपमा ललकार्न सकेका। तर ओलीको चलनचल्तीको उखाने जवाफमा भने कुनै तागत देखिएन । राजनीतिको मर्यादा कति तल खसिसकेको छ भनेर नाप्ने यो अर्को उदाहरण हो।
आफूलाई नै अन्तिम सत्य मान्ने र अरुका तीता सत्यहरु सुन्न पनि नचाहने धृतराष्ट्र चरीत्रबाट प्रेरित संघीय लोकतान्त्रिक गणतन्त्रका नेताहरु पुत्र मोह, धन मोह र शक्तिमोहबाट ग्रसित छन्। चर्मचक्षु सबल भएपनि धृतराष्ट्र झैं नेत्रहीन बनेका नेताहरु देशलाई हस्तिनापुरको गतिमा पुर्याउन प्रतिष्पर्धा गरिरहेका छन्।
अभिमानी दुर्योधन र दुस्सासन अनि कुटिल मामा शकुनीको साथमा रहेका अंगराज कर्ण सक्रिय रहेसम्म यहाँ विदुर र सञ्जयको कुनै अर्थ छैन। यस्तो अवस्थामा के नेपाल देशले कुनै वासुदेव कृष्णको अवतरणको प्रतिक्षा गरिरहने हो कि ?