बाटोः रोड टु डेथ’ प्रिमियरमा कसले के भने ?
जेठ ३१, काठमाडौं । शुक्रबारबाट रिलिज हुने नेपाली फिल्म ‘बाटोः रोड टु डेथ’को बुधवार साँझ ललितपुरको पुल्चोकस्थित लबिम मलमा प्रिमियर गरिएको छ । प्रिमियरमा फिल्मको टिम, सेलिब्रेटी, शुभचिन्तक, पत्रकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो।
नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा निर्माण भएको फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा फिल्म हेर्ने सबैले प्रशंसा गरेको बताए। उनले नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउने आफ्नो चाहनालाई यो फिल्मले पुरा गर्ने बताए।
अभिनेता सुलक्षण भारतीले फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताउँदै यस प्रकारको फिल्म नेपालमा यसअघि नबनेको दाबी गरे। अभिनेत्री रक्षा थापाले फिल्ममा धेरै भावना जोडिएको बताइन्। अभिनेत्री मिथिला शर्माले यस फिल्ममा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन्।
प्रिमियरमा सहभागी अधिकांश फिल्मकर्मीले अहिलेसम्म नेपालमा बनेका फिल्ममध्ये बिलकुल फरक बनेको र यो फिल्मले दर्शकलाई एउटा बाटोमा डो¥याउन सफल रहने प्रतिक्रिया दिए। उनीहरुले फिल्मको प्राविधिक पक्षलाई विशेष मनपराएका थिए।
फिल्मको प्रिमियर इभेन्टलाई राठी ग्रुपको एढेसिभ उत्पादन राठीकोलले ब्रान्डिङ पार्टनरको रूपमा प्रायोजन गरेको थियो। काठमाडौं फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्माता चन्दन झा हुन्। फिल्ममा साउथ फिल्मका छायाँकार शरण ऋषिको छायांकन छ।
फिल्मका लाइन प्रोड्युसरहरू शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन् भने कार्यकारी निर्माताहरू रणधीरकुमार झा, अश्विनी घिमिरे, सदिक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत र विशाखाविक्रम थापा हुन्। त्यस्तै, सह निर्माताहरू विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत र स्मृति झा हुन्।
फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।