मैत्रीपूर्ण फुटबलमा अमेरिका र ब्राजिलको बराबरी
जेठ ३१, काठमाडौं । कोपा अमेरिकाको तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन्। आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा दुवै टिमले एक-एक गोलको बराबरी खेलेका हुन्।
फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७ औं मिनेटमा अग्रता लिएको थियो। राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टीमलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, २६ औं मिनेटमा मिडफिल्डर क्रिष्टियन पुलिसीको गोलमा अमेरिकाले बराबरी गरेको थियो। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो।
कोपा अमेरिका २१ जुनदेखि सुरु हुँदै छ। समूह एमा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह डीमा रहेको ब्राजिलले कोष्टारिकासँग जुन २५ मा पहिलो खेल खेल्ने छ। कोपाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हो। २०२१ को फाइनलमा ब्राजिललाई हराउँदै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपाको उपाधि जितेको थियो।