अमर न्यौपानेलाई भिक्टोरियाको महावाणिज्यदूतको कार्यालय र चितवन समाजको स्वागत सम्मान
मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेलाई मंगलबार अष्ट्रेलियाको मेलबर्नमा स्वागत सम्मान गरिएको छ । भिक्टोरियाका लागि महावाणिज्यदूतको कार्यालयमा आयोजित एक विशेष समारोहमा महावाणिज्यदूत चन्द्र योञ्जनले साहित्यकार न्यौपानेलाई स्वागत सम्मान गर्नुभएको हो । उक्त अवसरमा साहित्यकार न्यौपानेले भानु जयन्ती समारोहमा सरिक हुन पाउँदा र यहाँका नेपाली साथीभाईको साथ र स्वागतबाट आफु निकै प्रभावित बनेको बताउनुभयो । मेलबर्नको भ्रमणमा आउनुहुने अतिथिहरुलाई स्वागत गर्ने महावाणिज्यदुतको कार्यालयको परम्परा अनुसार स्वागत गर्दै महावाणिज्यदुत चन्द्र योञ्जनले भाषा र साहित्यको माध्यमबाट नेपाली समाजलाई न्यौपानेले दिनुभएको योगदान वास्तवमै अतुलनीय रहेको बताउनुभयो । नयाँ पुस्ताका लागि दन्त्यकथामै सीमित हुन लागेका विविध विषयवस्तुलाई उपन्यास र आख्यानको माध्यमबाट संरक्षण गर्न र धेरैभन्दा धेरै जनताको वास्तविक भावनालाई मुखरित गर्न न्यौपाने सफल हुनुभएकोमा उहाँलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट रचनाहरु नेपाली पाठकहरुले पढ्न पाउने आशा समेत योञ्जनले व्यक्त गर्नुभयो ।
चितवन समाजको पनि सम्मान
यसैबीच, चितवन समाज भिक्टोरियाले चितवन नै स्थायी घर भएका साहित्यकार अमर न्यौपानेको सम्मानमा एक डिनर कार्यक्रमको आयोजना गरेको छ । बेलस्ट्रीट क्यान्टिनमा आयोजना गरिएको कार्यक्रममा चितवन समाजका अध्यक्ष सोम प्रसाद गुरुंगले स्वागत गर्दै चितवनकै नाम उज्वल बनाउने साहित्यकार न्यौपानेलाई मेलबर्नमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भिक्टोरियामा रहेका चितवनवासीको तर्फबाट मायाको चिनो पनि साहित्यकार न्यौपानेलाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा एनआरएनका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक केशव कँडेलसहित चितवन समाज भिक्टोरियाका पदाधिकारी पनि उपस्थित हुनुहुन्थ्यो । सम्मानपछि बोल्दै साहित्यकार न्यौपानेले अष्ट्रेलियामा पाएको न्यानो स्वागतका लागि धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, यो भूमिमा टेक्ने वित्तिकै गजबको ऊर्जा प्राप्त भएको छ । अष्ट्रेलियाको बारेमा मलाई धेरै कुरा थाहा थिएन । तर, जब यो भूमिमा मैले टेकें त्यस लगत्तै लेख्नका निम्ति गजबको उत्साह प्राप्त गरेको छु । नेपाली साहित्यलाई माया गर्ने नेपालीहरुको भावनाले वास्तवमै थप जिम्मेवारी महसूस गराएको छ । साहित्य संगीत जमघटको निमन्त्रणामा मेलबर्न भ्रमणमा रहनुभएका न्यौपाने बिहीबार सिड्नीतर्फ जाने कार्यक्रम रहेको छ । सम्मान कार्यक्रमको सञ्चालन साहित्य संगीत जमघटका अनुपम सायरले गर्नुभएको थियो ।