एक्सपर्टका निर्देशकद्वय सञ्जीव शर्मा र बद्री अर्यालले पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमलाई १० लाख सहयोग गर्ने
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशकद्वय बद्री अर्याल र सञ्जीव शर्माले एनआरएन अष्ट्रेलियाले विराटनगरमा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि १० लाख रुपैयाँ सहयोग गर्ने हुनुभएको छ । यसअघि नै एक लाख सहयोग गरिसकेको एक्सपर्ट समूहले कूल ११ लाख सहयोग गर्ने भएको छ । हालै एनआरएन अष्ट्रेलियाको च्यारिटी परियोजनाका पदाधिकारीहरुसँग उक्त रकम प्रदान गर्ने प्रतिबद्धता उहाँहरुले जनाउनुभएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत आफुहरुले समाजको उत्थानका लागि सहयोग गर्न लागेको अर्याल र शर्माको भनाई छ । एक्सपर्ट ग्रुपले एजुकेशन एण्ड माइग्रेसन सर्भिसका साथै एकाउन्टिंग, होम लोन, पिटिई परीक्षा तयारी, टेलिचोईस लगायत विविध क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । एनआरएन आईसीसी सदस्य समेत रहिसकेका सञ्जीव शर्माले पाथीभरा श्रद्धाश्रमको माध्यमबाट अभिभावकहरुको सेवा गर्ने अवसर वास्तवमै अतुलनीय भएको बताउनुभयो । उहाँले एक्सपर्ट फाउन्डेशनबाट नेपालमा सिन्धुपाल्चोकमा विद्यालय निर्माणमा सहयोग, अन्य विभिन्न विद्यालयमा पनि छात्रवृत्ति प्रदान गर्दै आएको छ । एक्सपर्ट फाउण्डेशन यस समूहमा आबद्ध कर्मचारीहरुको सहयोगबाट सञ्चालित रहँदै आएको छ । यसैगरी एक्सपर्ट फाउण्डेशनले नेपालमा भएका विभिन्न प्राकृतिक विपत्तिको क्रममा पनि सहयोग प्रदान गर्दै आएको छ ।
एनआरएन अष्ट्रेलियाले नेपाल सरकारको स्थानीय निकायसँगको साझेदारीमा निर्माण गर्न लागेको सबैभन्दा बृहद यस परियोजनालाई यसैवर्षभित्र सम्पन्न गर्नका लागि यतिबेला अष्ट्रेलियाका विभिन्न राज्यहरुमा च्यारिटी कार्यक्रमहरु आयोजना भइरहेका छन् । केही समय अघि ब्रिसबेनमा आयोजना गरिएको च्यारिटी डिनरबाट १८ लाखभन्दा बढी सहयोग संकलन भएको थियो भने न्यूसाउथवेल्सबाट मात्रै ४० लाखभन्दा बढीको प्रतिबद्धता आइसकेको छ । यस विषयमा एमएनटीभीसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले यही जुलाई २९ तारिख एनआरएन न्यूसाउथवेल्सको वार्षिक कार्यक्रमका साथै च्यारिटी डिनर समेत गरेर यसअघि प्रतिबद्धता व्यक्त गरे अनुरुप सहयोग रकम जुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरेलले भन्नुभयो, एक करोडसम्म न्यूसाउथवेल्सबाट नै सहयोग जुटाउने हाम्रो तयारी छ । सिड्नीको ब्ल्याकटाउनस्थित बोम्यान हलमा कार्यक्रम गरिनेछ । यसमा जीवनउत्प्रेरक वक्ताहरु समेत सहभागी बन्ने र तीजको सांगीतिक माहोल जमाउने तयारीमा एनआरएन न्यूसाउथवेल्स रहेको छ । यस कार्यक्रमका लागि एनआरएन एससीसी सदस्य निजन चौलागाईं संयोजक रहेका छन् । चौलागाईंले परोपकारी यस च्यारिटी डिनरमा सहभागी हुन सिड्नीवासी नेपाली समूदायका सदस्यहरुलाई आग्रह गरेका छन् । सन् २०१३ बाट एनआरएनले थालेको यो परियोजना अन्तर्गत २ करोड ६६ लाख सहयोग संकलन गर्ने लक्ष्य छ । जस अन्तर्गत १ करोड ६६ लाखमा २५ कोठाको श्रद्धाश्रम निर्माण हुनेछ भने एक करोडको अक्षयकोष निर्माण गरी त्यसको सञ्चालन गर्ने योजना छ । यस कार्यका लागि सयोग जुट्ने क्रम जारी रहेको एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले जानकारी दिनुभयो ।