बेलायतको लर्ड्समा नेपाली क्रिकेट टिम विजयी, एमसीसी ४१ रनले पराजित
क्रिकेटको उद्गमस्थल मानिने बेलायतको ऐतिहासिक लर्ड्स मैदानमा नेपालले पहिलो खेलमै जित हात पारेको छ ।
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार राति लर्ड्स मैदानमा घरेलु टोली मेरीलीबोन क्रिकेट क्लव एम.सी.सी.लाई ४१ रनले हराएको हो ।
नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको बेलायती टोली १ सय ७६ रनमै समेटिएपछि नेपाल ४१ रनले विजयी भएको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन जोड्यो ।
जवाफमा २ सय १८ रनको लक्ष्य पछ्याएको एम.सी.सी. ले ४२ दशमलव २ ओभरमा अलआउट हुनुपूर्व १ सय ७६ रन मात्रै बनाउन सक्यो ।
एम.सी.सी. का लागि सुरुवाती व्याट्सम्यान जर्ज एडरले शतक प्रहार गरेपनि अन्य ब्याट्सम्यानहरु जम्न नसक्दा टोली पराजित भएको हो ।
जितसँगै नेपालले बेलायत भ्रमणका सबै ५ खेलमा जितको कीर्तिमान बनाएको छ ।
नेदरल्यान्ड्सविरुद्ध यसै महिनाको अन्त्यमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग अभ्यास खेल खेलेको हो ।