टर्कीमा सैन्य ‘कु’ को ‘मतियार’ बनेको भन्दै ४५ हजारलाई कारवाही


Turkeyटर्कीमा सरकारविरुद्ध ‘कु’गर्नेहरुको मतियार बनेको आरोपमा अहिलेसम्म विभिन्न सरकारी सेवामा रहेका ४५ हजार व्यक्तिलाई कारवाही गरिएको छ ।

ती मध्ये केही हजार व्यक्तिलाई सेवाबाट अपदस्थ गरिएको छ भने धेरै संख्यामा निलम्बनमा परेका छन् । यसैक्रममा टर्की सरकारले शिक्षा विभागसँग सम्बन्धित १५ हजार कर्मचारीलाई निलम्बन गरेको छ भने २१ हजार शिक्षकको लाइसेन्स रद्द गरिएको छ ।

साथै बिश्वबिद्यालयका १५ सय डीनलाई राजीनामा दिन निर्देशन दिइएको छ । यसअघि राष्ट्रपति रेचेप तैयब अर्दोगानले विद्रोह गर्ने भाइरसहरुलाई राज्यका अंगहरुबाट निकाल्ने कसम खाएका थिए ।

उनले कू गर्न लागेकाहरुले ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । कू मा संलग्न भएका हजारौं सुरक्षाकर्मीलाई पक्राउ गरिएको छ भने न्याय क्षेत्रका सयौंलाई बर्खास्त पनि गरिएको छ ।

यता, संयुक्त राष्ट्रसंघले भने जथाभावी ढंगले विभिन्न क्षेत्रका ब्यक्तिलाई गिरफ्तार गरेको भन्दै टर्की सरकारको ध्यानाकर्षण गराएको छ ।

मानव अधिकारबिरुद्ध जथाभावी तरीकाले गिरफ्तार गरिएको र पक्राउ परेकाहरुलाई चरम यातना दिईएको भन्दै बिरोध गरिएको हो । संयुक्त राष्ट्रसंघले एक बिज्ञप्ती जारी गर्दै टर्की सरकारको यस कदमप्रति आपत्ति जनाएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?