डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्न सफल, केही रिपब्लिकनको असन्तुष्टि भने कायमै


Trumpअमेरिकाको रिपब्लिकन पार्टीले आसन्न राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पलाई पार्टीकातर्फबाट उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

विभिन्न राज्यबाट सम्मेलनमा प्रतिनिधित्व गरिरहेका प्रतिनिधिहरुले दिएको समर्थनका आधारमा ट्रम्पलाई उम्मेद्वार बनाउने औपचारिक घोषणा गरिएको हो ।
पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बन्ने दौडमा रहेका अरु १६ जनालाई पछि पार्दै ट्रम्पले यो सफलता पाएका हुन् ।

धनाढ्य व्यापारी रहेका ट्रम्प गैर राजनीतिक पृष्ठभूमिबाट आएर पनि पार्टीका एकसेएक राजनीतिक नेतालाई पाखा लगाउँदै ह्वाइटहाउसको रेसका लागि तयार भएका हुन् ।

यद्यपि, विभिन्न मुद्दामा उनले अभिव्यक्त गरेका विचारका कारण पार्टीका थुप्रै वरिष्ठ नेताहरुले उनको आलोचना गरिरहेका छन् । र त्यो सम्मेलन स्थलमासमेत प्रकट भयो ।

अमेरिकी पूर्व राष्ट्रपति बाबु–छोराद्वय जर्ज बुश, राष्ट्रपतिको उम्मेदवारी होडमा रहेका मीट रोमनीलगायत नेताले बहिष्कार गरे ।

सम्मेलन आयोजक राज्यका गभर्नर जोन कासिचले पनि सम्मेलन बहिष्कार गरे । ट्रम्पविरुद्धमा सम्मेलनकै केही राज्यका प्रतिनिधिले होहल्ला गरेको अवस्थाले पनि रिपब्लिकनहरुबीचको मनमुटाव प्रत्यक्ष झल्केको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?