आज गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, घोराहीमा सबैभन्दा धेरै वर्षा
असार ८, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी प्रणालीको प्रभाव कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा रहेको छ। उपत्यका सहित गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा शनिबार बिहानैदेखि मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
बाँकी भूभागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, शनिबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्तकर्ता अपनाउन विभागले आग्रह गरेको छ।
पछिल्लो २४ घण्टामा दाङको घोराहीमा सबैभन्दा धेरै पानी परेको छ। घोराहीमा ५६ दशमलब १, त्यसपछि पोखरामा, ४३ दशमलब ४, ताप्लेजुङमा १० दशमलब २, धनकुटामा ९ दशमलब ३ वर्षा मापन भएको छ।