गृहमन्त्रीलाई शर्माको प्रश्न : जिबी राईको लोकेशन पत्ता लागिसकेपछि पनि पक्रिन चार दिन किन लाग्यो ?
असार ९, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार जिबी राईलाई छिटो पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा महामन्त्री विश्व प्रकाश शर्माले असार ४ गते गृहमन्त्री रवि लामिछानेले चितवन पुगेर राईको लोकेशन पत्ता लागिसकेको भनि दिएको अभिव्यक्तिको स्मरण गराउँदै चार दिन वितिसक्दा समेत राई किन प्रक्राउ परेनन् भनि प्रश्न गरे।
उनले भने, ‘देशलाई जिबीको लोकेशन चाहिएको होइन, जिबी चाहिएको हो ।’उनले थपे, ‘गृहमन्त्रीजिले लोकेशन पत्ता लाग्यो भनेको चार दिन भयो। प्रतिपक्षमा हुँदा उहाँले यहीं सदनमा उभिएर सरकारले पक्रिनै चाहेन, चाहेको भए पक्रिन यतिका समय किन लाग्छ भनेर भन्नुभएको थियो। अब लोकेशन पत्ता लागिसकेपछि पनि चार दिन किन लाग्छ ?’ उनले प्रश्न गरे।
त्यसअघि उनले राईलाई पक्राउ नगरेर व्यवसायीक साथीलाई भगाउने नियत गृहमन्त्रीले राखेको होकि भन्ने आशंका व्यक्त गरे। ‘संसारलाई थाहा छ गोरखा मिडियाका दुई जना सञ्चालकमध्ये एक जना फरार छन्, एक जना गृहमन्त्री हुनुहुन्छ। सहकारी ठगीमा फरार भएको व्यवसायीक साथिलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजिले गिरफ्तार गर्नु छ। त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिके के नयाँ शैली हो ? केटाकेटी पन हो या भगाउने नियत हो ?’शर्माले भनेका छन्।
मलेसियासँग सुर्पुदगी सन्धी नभएका कारण जिबी राईलाई पक्रिन कठिन भए पनि असम्भव भने नभएको धारणा शर्माको छ।