आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
असार ११, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भूभागमा वर्षाको सम्भावना छ । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ।
मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रोसँग वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ। विभागका अनुसार यो वर्ष मनसुन देशभर फैलन १५ दिन लागेको छ। नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ ।
योसँगै नेपालमा अब पश्चिमी वायुको असर पनि हटेकोछ। यद्यपी मनसुनी वर्षा गराउने जल वाष्पप्रणाली सक्रिय हुन अझै समय लाग्ने विभागले जनाएको छ।
हाल बिहानैदेखि गण्डकी प्रदेशका केही स्थान, कोसी र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।
मंगलबार राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली भई कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत पानी पर्ने विभागले उल्लेख गरेको छ।
राती कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले सर्तकता अपनाउन आग्रह गरेको छ।