नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि
असार १६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ। बिहीबारसम काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा चल्ने महाधिवेशनमा विभिन्न तीनवटा प्रतिवेदनहरु प्रस्तुत गरिने बताइएको छ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको उनकले बताए।
महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन्। महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ।
करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ। एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो।