विश्वका ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको छ : विप्लव


असार १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल स्रोत साधन र सुन्दरताले भरिपूर्ण रहेकाले विश्वका सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका छन्।

आइतबार नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उनले सम्पूर्ण ‘कू’ तत्वहरुको आँखा नेपालमा परिरहेको बताएका हुन् । उनले नेपालको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी समेत निकै तिव्र ढङ्गले बढेको बताए।

उनले भने,‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ। नेपालको राष्ट्रिय स्वाधीनता विश्वको ध्रुविकृत राजनीति र नेपालको भू–राजनीतिको कारणले निकै ठूलो दबावमा छ। हाम्रो देश स्रोत साधन र सुन्दरताले भरिपूर्ण छ। सुन्दरतामा सबैको आँखा पर्छ। सम्पूर्ण कूतत्वहरुको आँखा नेपालमा परिरहेको छ। स्रोत साधनलाई कब्जा गर्ने होडबाजी निकै तिव्र ढङ्गले बढेको छ। ’

उनले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने भन्दै समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए।

नेकपा एस दुईवटा पूर्वप्रधानमन्त्री भएको पहिलो पार्टी रहेको र ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी भएको उनको भनाई छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?