पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमलाई पर्थबाट भैरव ढकालको १० लाख सहयोग
एनआरएन अष्ट्रेलियाले सञ्चालन गरेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रम परियोजनाका लागि पर्थका नेपाली व्यवसायी भैरव ढकालले १० लाख सहयोग गर्नुहुने भएको छ । बिहीबार ढकालले उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । एनआरएन अष्ट्रेलियाका पूर्वउपाध्यक्ष समेत रहनुभएका ढकाल आईसीसी सदस्य समेत रहिसक्नुभएको छ । पर्थमा रही रेष्टुरेन्ट व्यवसायमा संलग्न रहनुभएका ढकाल सन् २०११ देखि १३ सम्मको एनआरएन अष्ट्रेलियाको कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यही कार्यकालमा अष्ट्रेलियावासी नेपालीहरुको लागि एनआरएनले एक लख डलरको कल्याणकारी कोष निर्माण गरेको थियो । ढकालले यसअघि पनि भूकम्प पीडितका लागि, एनआरएन भवन निर्माणका लागि र अन्य विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । पर्थमा निर्माण गर्न लागिएको नेपाली मन्दिर निर्माण समितिका सल्लाहकार रहनुभएका ढकालले पाथीभरा श्रद्धाश्रममा एउटा कोठा निर्माण गर्नका लागि लाग्ने १० लाख रुपैयाँ आफुले दिने बताउनुभयो । आफुले आर्जन गरेको धन र ज्ञान समाजलाई नै दिन पाउनु सौभाग्यको कुरा भएको भन्दै विभिन्न कारणबाट दुःखका साथ रहन बाध्य हुनुभएका अभिभावक, जेष्ठ नागरिकहरुको सेवाभन्दा उत्तम सेवा अरु हुन नसक्ने प्रतिक्रिया दिनुभयो । ढकालले एमएनटीभीसँग भन्नुभयो, “यतिबेला म अष्ट्रेलियाको व्यवसायसँगै नेपालमा पनि लगानी गर्दैछु । आफुले हासिल गरेको प्रगतिबाट नेपालमा समेत रोजगारी सिर्जना गर्न सकिने भए किन त्यसो नगर्ने भन्दै मैले नेपालको विभिन्न क्षेत्रमा लगानी गर्नका लागि कम्पनी खोलिसकेको छु । दक्ष जनशक्ति निर्माण र अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्तिको व्यवस्थापन गर्ने कार्यमा हामीले तयारी थालेका छौं । यस विषयमा थप जानकारी पछि दिने नै छु ।”
एनआरएन अष्ट्रेलियाको च्यारिटी परियोजना संयोजक रमेश पाण्डेले समूदायका अगुवाहरुबाट जुन किसिमको साथ र सहयोग पाथीभरा श्रद्धाश्रमले पाएको छ यसले नयाँ आशा सञ्चार गराएको बताउनुभयो । “एनआरएन अष्ट्रेलियाले अहिलेसम्म सञ्चालन गरेको ठूलो परोपकारी परियोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि अहिलेसम्म आएको सहयोग उत्साहप्रद छ । अहिलेसम्म १० लाख रुपैयाँ सहयोग गर्ने ५ जनाले प्रतिबद्धता जनाइसक्नुभएको छ ।” रमेश पाण्डेले भन्नुभयो । एक करोडभन्दा बढीको लागतमा बन्ने यस श्रद्धाश्रमका लागि विराटनगर उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको थियो भने सञ्चालनका लागि १ करोडकै अक्षयकोष निर्माण गर्ने योजना छ । यही परियोजनाको सहयोगका लागि आगामी २९ जुलाईका दिन एनआरएन न्यूसाउथवेल्सले पनि च्यारिटी डिनर आयोजना गरेको छ भने केही समयमा नै भिक्टोरियामा पनि कार्यक्रम गर्ने तयारी भएको पाण्डेले जानकारी दिनुभयो ।