लिबियामा इस्लामिक स्टेट आइएसविरुद्ध अमेरिकाको हवाई आक्रमण शुरु
अमेरिकाले लिबियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध हवाई आक्रमण सुरु गरेको छ ।
संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकारको आग्रहमा आइएस विरुद्ध हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अमेरिकी सेनाले आइएसको पकड रहेको तटीय शहर सिर्तमा केन्द्रीत भएर हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लिबियाका प्रधानमन्त्री फायज सर्राजले आक्रमणबाट बिद्रोही पक्षमा ठूलो नोक्सानी भएको बताउनुभयो ।
अमेरिकाले लिबियाको संयुक्त सरकारसँग मिलेर आइएस बिरुद्ध कारबाही अभियान चलाएको यो पहिलो पटक हो । यसअघि गएको फेब्रुअरी र नोभेम्बरमा अमेरिकी सेनाले आइएस विरुद्ध हवाई आक्रमण गरेको थियो ।
तर त्यसबेला लिबियाको संयुक्त सरकारसँग सहकार्य भने गरेको थिएन । राष्ट्रपति बाराक ओबामाको अनुमति अनुसार नै कारबाही अभियान चलाइएको पेन्टागनले जनाएको छ ।