कोमल ओलीका गीतमा कम्मर मर्काउँदै सकियो सिड्नीमा नारी निकुञ्जको परोपकारी तीज
नारी निकुञ्ज अष्ट्रेलियाले हरेक वर्ष आयोजना गर्दै आएको तीज सेलिव्रेसन सिड्नीमा सम्पन्न भएको छ । खचाखच भरिएको ग्रानभिलको ब्लाउजा हलमा गायिका कोमल ओलीले तीजको भाकामा उपस्थित सिड्नीवासी नेपाली नारीहरुलाई मनोरञ्जन दिलाएकी थिइन् । उक्त कार्यक्रमको उद्घाटन एनआरएन आईसीसी प्रवक्ता रञ्जु वाग्ले, एनआरएन संरक्षक ईन्द्रा वन र नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक सिर्जना संग्रौलाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो । यसलगत्तै नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गानबाट बजाइएको थियो । कार्यक्रममा उपस्थितहरुलाई नारी निकूञ्जकी सहसंयोजक दिपा सापकोटाले स्वागत गर्नुभएको थियो । यसपछि नारी निकुञ्ज अष्ट्रेलियाकी सचिव प्रतिज्ञा अधिकारीले सञ्चालन गरिरहेका कार्यक्रमहरुको प्रगति विवरण दिनुभएको थियो । नेपालमा महिलाहरुको पाठेघर खस्ने समस्याबाट पीडित बनेकाहरुको उपचारमा नारी निकूञ्जले खेल्दै आएको भूमिका, छात्राहरुको शैक्षिक स्तर बढाउनका लागि दिँदै आएको छात्रवृत्ति, विद्यालय भवन निर्माण लगायतका विवरण अधिकारीले दिनुभयो । एनआरएन आईसीसीमा पहिलो महिला प्रवक्ताका रुपमा मनोनित हुन सफल रञ्जु वाग्लेलाई उहाँले नारी निकुञ्ज स्थापनाका लागि गर्नुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । थापालाई संरक्षक ईन्द्रा वन र नारी निकुञ्ज संयोजक संग्रौलाले संयुक्त रुपमा सम्मान पत्रका साथै दोसल्ला ओढाउनुभएको थियो । कार्यक्रमको औपचारिकतालाई विट मार्दै संयोजक सिर्जना संग्रौलाले तीजको अवसरमा नारी निकुञ्जले आयोजना गर्ने कार्यक्रम हरेक वर्ष विशेष हुने भन्दै यसलाई अझ बढी परिस्कृत, अझ बढी आकर्षक र दिदीबहिनीको जमघटको उच्चतम् थलो बनाउने आफुहरुको प्रयत्न निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेपछि औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन राधिका बानियाँले गर्नुभएको थियो । तीज सेलिव्रेसनकी आकर्षणको केन्द्र बन्नुभएकी गायिका कोमल ओलीले आफ्नो जोशिलो प्रस्तुति दिनुअघि रिशु लम्साल, दिपा सापकोटा, सिखा वाग्ले, अनिता नेपाल, सावि हमाल, प्रिया प्रधान, प्रज्ञा पन्थी, वर्षा बराल, कमला बस्नेत, प्रज्ञा अधिकारी, कविता सञ्जेल, पिंकी ओझाले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यसैगरी अभिभावकहरुको तर्फबाट गीता पराजुुली, उषा पन्थी, मायादेवी पाण्डे, नारायणदेवी कर्माचार्य र समिक्षा अधिकारीले तीजको लहर आयो बरिलै गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नुभयो । यसैगरी एनआरएन अष्ट्रेलियाकी सदस्य पूजा चन्द र उनको समूहले पनि कार्यक्रममा आकर्षक नृत्य प्रस्तुत गरेको थियो । तीजको मुख्य आकर्षक गायिका कोमल ओलीले दुई घण्टाभन्दा बढी आफ्ना रोचक प्रस्तुतिबाट तीजको माहोल बनाएकी थिइन् । नारी निकुञ्जको तीज सेलिव्रेसनमा पछिल्लो चर्चित गीत पोई चाहियो भनेर गीत गाउने लाष्टै चोटी होसहित करिब एक दर्जन गीतमा उपस्थित अष्ट्रेलियावासी नेपाली महिलाहरुलाई नाच्न बाध्य बनाएकी थिइन् । कार्यक्रममा छड्के तिलहरिसहित विभिन्न डोर प्राइज राखिएको थियो भने डीजे सेसन निकै अबेरसम्म चलेको थियो । 9 तस्वीरमा हेर्नुहोस् कोमल ओलीका साथ नारी निकुञ्जको तीजको धुम सिड्नीमा