श्रीमतीको हत्या भएको १४ महिनामा श्रीमानले गरे आत्महत्या, दुई छोरी आफन्तको काखमा
अमेरिकाको डल्लासमा एक नेपाली व्यवसायी नवराज शिवाकोटीले आत्महत्या गरेका छन् । गत वर्ष एक अश्वेत अमेरिकन लुटेराको गोली प्रहारबाट उनकी श्रीमती समिरा शिवाकोटी मारिएकी थिइन् । श्रीमतीको हत्यापछि साँढे तीन वर्ष र दुई वर्षका दुई अवोध छोरीको पालनपोषण गर्दै आएका नवराजले पत्नी वियोगकै कारण आत्महत्या रोजेका छन् ।
नवराजले टेक्सससँगै सीमा जोडिएको ओक्लाहोमामा पुगेर आइतबार आत्महत्या प्रयास गरेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई एअर एम्बुलेन्सबाट प्लानो हस्पिटलमा ल्याएर उपचार गरिए पनि बचाउन सकिएन र उनको मंगलबार निधन भएको थियो । १४ महिनासम्म पनि उसले आफूलाई सम्हाल्न सकेनन र श्रीमतीको पीडा भुल्न सकेनन् । पछिल्लो समयमा डेन्टन अदालतमा मुद्धाको अन्तिम सुनुवाई भइरहेको थियो । यही मुद्धाले गर्दा पनि उसले सन् २०१५ जुन १० को त्यो कालोदिनलाई भुल्न सकेनन् । उनका दाजु विष्णु शिवाकोटीले भतिजीहरुको जिम्मा लिएका छन् । बुधबार ड्यालसको ‘हग्स फनरल हाउस’ मा उनको अन्तेष्टी गरिएको थियो । ससाना दुइ अवोध छोरीहरूको उपस्थितिमा गरिएको उनको अन्त्येष्टीले माहौल स्तव्ध बनाएको थियो । शोकसभामा नवराजका दाइ विष्णुले छोरीहरूको पालन पोषणमा कुनै कमी नगर्ने वचन दिए ।
सन् २००४ मा अमेरिका आएको नवराजको परिवार ग्यास स्टेसन चलाएर सुखी जीवन बिताइरहेको थियो । गत वर्ष जुन १० मा पत्नी समीराको हत्या गरिएपछि उनी मानसिक रूपमा विक्षिप्तजस्तै भएका थिए । शायद, त्यही बेचैनीले हुनसक्छ, उनलाइ दुइ आवोध छोरीहरूको मायाले पनि बाँच्न अभिप्रेरित गर्न सकेन । नवराजले गरेको आत्महत्यालाइ लिएर मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ । केहीले पत्नीप्रतिको अगाध प्रेमका रूपमा सम्मान गरेका छन् भने केहीले अवोध छोरीहरूलाइ अनाथ बनाएकोमा गैरजिम्मेवारीपन पनि भनेका छन् । अमेरिकामा सहज बन्दुक पाइने भएकाले त्यसैको उन्मादमा अपराधिक घटनाहरू बढिरहेका छन् । ड्यालसको नेपाली समाजले भने यो घटनाको श्रृंखलालाइ बन्दुके उन्मादले तहसनहस पारेको एक दुःखद घटनाका रूपमा लिएको छ ।
Photo Credit : HimalaynKhabar