पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमलाई एनआरएन उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको पाँच पाँच लाख सहयोग


एनआरएन अष्ट्रेलियाले मोरंगको विराटनगर उपमहानगरपालिकामा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमका लागि सहयोग जुट्ने क्रम जारी छ । यसैक्रममा एनआरएन उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तले पाँच पाँच लाख सहयोग गर्ने हुनुुभएको छ । जपान र नेपालमा होटल तथा पर्यटन व्यवसाय अघि बढाउनुहुने भवन भट्ट जपानको एनसीसी अध्यक्ष, आईसीसी कोषाध्यक्ष हुँदै उपाध्यक्ष हुनुभएको हो । final_bhabanगैरआवासीय नेपाली संघको अभियानमा उहाँको उपाध्यक्षका रुपमा यो दोश्रो कार्यकाल हो । परोपकारी कार्यमा सदैव अग्रसर रहने भट्ट पछिल्लो समय हेटौंडा कुलेखानी सुरुंगमार्गको निर्माणका लागि अग्रसर हुनुभएको छ । उहाँले एनआरएन अष्ट्रेलियाले नेपाल सरकार स्थानीय निकायसँगको सहकार्यमा गर्न लागेको यो परियोजना अन्य देशका एनआरएनका लागि समेत प्रेरणाको श्रोत भएको भन्दै यसमा आफुले सहयोग गर्ने निर्णय गरेको बताउनुभयो । यसैगरी जर्मन र नेपालमा समेत विभिन्न व्यवसायमा संलगन रहनुभएका उपाध्यक्ष कुमार पन्त पनि क्षेत्रीय संयोजक, महासचिव हुँदै अहिलेको एनआरएन आईसीसीमा उपाध्यक्ष हुनुहुन्छ । पन्त विदेशमा नेपाल प्रबद्र्धनका साथै गैरआवासीय नेपालीको हक हितका निम्ति निरन्तर क्रियाशील हुनुहुन्छ । उहाँले एनआरएन अष्ट्रेलियाले गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रम नमूना परियोजना भएको भन्दै यसमा विश्वमै रहेका नेपालीहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । यसैबीच एनआरएन अष्ट्रेलियाका च्यारिटी कोअर्डिनेटर एवं पूर्व आईसीसी सदस्य रमेश पाण्डेले उपाध्यक्षद्वयको सहयोगले थप हौसला मिलेको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो लागि यो परियोजना गौरवको विषय हो । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि आग्रजहरुले दिनुभएको सहयोग, साथ र सल्लाह निकै उत्साहजनक छ । पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमले देशभित्र र देश बाहिर पनि एनआरएनको गौरव बढाउनेछ भन्नेमा म विश्वस्त छु ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?