न्यूसाउथवेल्सका लागि बद्री अर्याल र भिक्टोरियाका लागि चिरञ्जीवी देवकोटा पर्यटनदूत नियुक्त
नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको न्यूसाउथवेल्स र भिक्टोरिया राज्यका लागि अवैतनिक पर्यटन दूत नियुक्त गरेको छ । न्यूसाउथवेल्सका लागि व्यवसायी बद्री अर्याल र भिक्टोरिया राज्यका लागि सञ्चारकर्मी चिरञ्जीवी देवकोटालाई बोर्डले आगामी दुई वर्षका लागि पर्यटनदूत तोकेको हो । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन अष्ट्रेलियाका यी राज्यहरुमा प्रबद्र्धन गर्नकालागि उहाँहरुलाई नियुक्त गरेको हो । नवनियुक्त दूत बद्री अर्याल एक्सपर्ट एजुकेशन सर्भिसेजका निर्देशक हुनुहुन्छ भने देवकोटा एमएनटीभीको समाचार प्रमुख हुनुहुन्छ । पर्यटनसम्बन्धी विभिन्न कार्यक्रमहरुमा पर्यटन बोर्डको प्रतिनिधित्व गर्ने र नेपालको पर्यटन क्षेत्रको श्रीबृद्धिका लागि सम्बन्धित शहरमा क्रियाशील रहने उहाँहरुको कार्यादेशमा उल्लेख छ । नियुक्तिपछि प्रतिक्रिया दिँदै नवनियुक्त पर्यटनदूतद्वयले यस निर्णयले देशका निम्ति केही गर्ने अवसर प्रदान गरेको बताउनुभयो । “हुनतः हामी सबै नेपालीहरु नै हाम्रो देश नेपालका दूतहरु हौं । तर, सरकारी निर्णयपछि थप जिम्मेवारीबोध भएको छ ।”, अर्यालले भन्नुभयो । नवनियुक्त पर्यटनदूत चिरञ्जीवी देवकोटाले अष्ट्रेलियामा हरेक वर्ष भ्रमणका लागि विभिन्न देश जाने पर्यटकमध्ये केहीलाई नेपालतर्फ आकर्षित गर्ने कार्यमा योगदान दिन सके आफुहरुको सफलता हुने बताउँदै यसका लागि यहाँस्थित दूतावास, महावाणिज्यदूतको कार्यालयहरु, गौरआवासीय नेपाली संघ र अन्य नेपाली सामूदायिक संघ संस्थाहरुसँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिनुभयो । यसैबीच, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स राज्य समितिका संयोजक दिनेश पोखरेलले पर्यटन प्रबद्र्धनका लागि पछिल्लो पटक नेपाल पर्यटन बोर्डले गरेको निर्णयसँगै आफुहरु हातमालो गर्दै पर्यटन विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै एनआरएन उपाध्यक्ष एवं भिक्टोरिया राज्य संयोजक केशव कँडेलले पनि नेपालको पर्यटन विकास र अष्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरुको संख्या बृद्धि गर्ने सन्दर्भमा आफुहरु सहकार्यसाथ अघि बढ्न तयार रहेको बताउँदै नवनियुक्त पर्यटनदूतहरुको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । यसैबीच, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले पनि संस्थाका सदस्य एवं सञ्चारकर्मी चिरञ्जीवी देवकोटा पर्यटनदूत नियुक्त हुनुभएकोमा खुशी व्यक्त गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिएको छ । न्यूसाउथवेल्सका लागि नेपाली पर्यटनदूत बद्री अर्याल विगत २० वर्षदेखि सिड्नीमा बस्दै आउनुभएको छ भने उहाँ आबद्ध एक्सपर्ट फाउन्डेशनले नेपालमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा विभिन्न परोपकारी कार्य समेत गर्दै आएको छ । भिक्टोरियाका नेपाली पर्यटनदूत चिरञ्जीवी देवकोटा विगत एक दशभन्दा बढीदेखि नेपाली टेलिभिजन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । अहिले अष्ट्रेलियाको नेपाली भाषाको टेलिभिजन एमएनटीभीको प्रधान सम्पादकको रुपमा रहनुभएका देवकोटा यसअघि न्यूज २४ टेलिभिजनको समाचार प्रमुख हुनुहुन्थ्यो ।