आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले पराजित
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ ।
नेदरल्याण्ड्सको एम्स्टेलभीनमा भएको पहिलो खेलमा विजयका लागि पाएको ९५ रनको झिनो चुनौती नेदरल्याण्ड्सले १६ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा ग-यो । नेपालका लागि सागर पुन, बसन्त रेग्मी र करण केसीले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराव प्रदर्शन गर्ने क्रममा ३८ ओभर १ बल क्रिजमा टिकेर ९४ रनमात्र बनाउन सक्यो ।
पहिलो विकेटका लागि २३ रनको साझेदारी गर्ने क्रममा अनिल मण्डल २० तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन जोडे । त्यसपछि भने नेपालले लगातार विकेट गुमाउने क्रममा सस्तैमा समेटिएको हो । शरद भेषावकर १४, सोमपाल कामी १२, विनोद भण्डारी ९, सागर पुन ७, राजु रिजाल ३, सन्दीप लामिछाने १ तथा कप्तान पारस खड्का र करण केसी रनको खाता नखोली पभेलियन फर्किए । बसन्त रेग्मी ७ रनमा अविजित रहे ।
यो हारले भने नेपालको अर्को चरणको ढोका खुल्ने सम्भावना कमजोर बनेको छ । नेदरल्याण्ड्स जानुअघि नेपाली टिमले इङ्ल्याण्डमा अभ्यास खेलेकाले यो खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिए पनि सो अनुसारको खेल नेपालले प्रदर्शन गर्न नसकेको हो । होम एण्ड अवेका आधारमा खेलाइने भए पनि दोस्रो खेल नेदरल्याण्ड्समै सोमबार हुनेछ ।
गत बैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्धका दुवै खेल जित्दै नेपालले अंकको खाता खोलेको थियो । त्यसअघिका दुवै चरणका खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो ।
नेपालले नेदरल्याण्ड्ससँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्ने कार्यक्रम छ । आठ टोली सहभागी च्याम्पियनसिपमा नेपाल ४ अंकसहित छैठौं स्थानमा छ ।