सेना जुट्यो हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धारमा (फोटो फिचरसहित)


नेपाली सेनाले यही असोज २८ गतेदेखि मुस्ताङको थोराङभञ्ज्याङ इलाकामा हिमपातका कारण फसेका पदयात्रीको उद्धार जारी राखेको छ । थोराङभञ्ज्याङ र ड्रम क्याम्प इलाकाबाट डा अधिकृतसहित खटिएको नेपाली सेनाको अल्पाइन रेस्क्यू टोलीले एक ईजरायली नागरिकलाई जीवितै उद्धार गरेको तथा अन्य आठ जनालाई मृत अवस्थामा फेला पारेको छ ।मृतकमध्ये छ जनाको सनाखत भइसकेको छ तीमध्ये तीन नेपाली, दुई ईजरायली र एक पोल्याण्डका नागरिक रहेका छन् भने बाँकी दुईको सनाखत हुन सकेको छैन । मृत अवस्थामा फेला पारि मुक्तिनाथ ईलाकामा उद्धार गरिएका पदयात्रीमा दुई नेपाली, दुई ईजरायली र एक पोल्याण्डका नागरिक रहेका छन् । बाँकी तीन मृतकलाई मौसमको खरावीको कारणले उद्धार गर्न कठिनाइ भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यस्तै बुधबार जीवितै उद्धार गरिएका पदयात्रीको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको र निजहरुको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ । साथै अन्य मृतकको शव नेपाल प्रहरीलाई बुझाइएको छ । यसैगरी सेनाले हराइएकाको खोज तथा उद्धार कार्यलाई तीव्र गतिमा जारी राखेको तथा शुक्रबार पनि उद्धार जारी रहेन निर्देशनालयले जनाएको छ ।
यसैबीच, मुस्ताङको थोराङभञ्ज्याङ गर्ने क्रममा हिउँमा फसेका मध्ये बिहीबार साँझ सम्म थप छ जनाको शव भेटिएको छ भने हाल सम्म ६४ जनाको उद्धार गरिएको छ । घटनास्थलमा रहेको नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको उद्धार टोलीले छ जनाको शव निकालेको र चार जनाको शव निकाल्न बाँकी रहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार मृत भेटिएका चारसहित हिउँमा फसेर मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यसैगरी आजै मुस्ताङ र मनाङका विभिन्न ठाउँबाट ४२ जनाको जीवितै उद्धार गरिएको छ । सारेवुङबाट २४ नेपाली र ९ क्यानडियनको उद्धार गरिएको प्रनाउ पाठकले बताउनुभयो । मनाङको तिलिचो ताल क्षेत्रबाट इटालीका दुई र छ नेपालीलाई उद्धार गरी जोमसोम ल्याइएको छ । थोराङबाट एक जना इटाली नागरिकको पनि जीवितै उद्धार गरिएको छ । बुधबार र बिहीबार गरेर हिउँमा फसेका ६४ जनाको उद्धार भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका खरिदार रमेश अधिकारीले बताउनुभयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० जनाको उद्धार टोलीले अस्थाई उद्धार क्याम्प खडा गरेर उद्धार गरिरहेका छन् । आज दिउँसो नेपाली सेनाको दुई हेलिकप्टर प्रयोग गरी बेपत्ताको खोजी गरिएको थियो । मनाङ हुँदै थोराङभञ्ज्याङ गरेर मुस्ताङको मुक्तिनाथ झर्ने क्रममा मङ्गलबार बिहानपख ड्रम क्याम्प क्षेत्रमा पुगेका पदयात्री हिउँ पर्न थालेपछि फसेका थिए । हिँडिरहेको अवस्थामा बाक्लो हिउँ परेर बाटो नदेखिपछि रोकिएका पदयात्री हिउँमा फसेका हुन् ।
बेपत्ता पाँचको शव भेटियो
म्याग्दीको मुदी गाविसस्थित धौलागिरि आधार शिविरमा हिउँ पहिरोमा परी बेपत्ता पाँच जनाको शव भेटिएकोे छ । स्लोकाभियाका ६० वर्षीय मजन मार्टिक, ५८ वर्षीय भ्यादिमिर स्भाकर, नेपाली सहयोगी सोलुखुम्बु बुँदेल–८ का गोपाल राई, सोलुखुम्बु जुविङ–२ का दोर्जे शेर्पा र ओखलढुङ्गा मोली–६ का भोजकुमार राईको शव हिउँमा पुरिएको अवस्थामा बिहीबार दिउँसो भेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक जर्नादन जिसीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दी, नेपाल पर्वतारोहण सङ्घ र ट्राभल एजेन्सीको संयुक्त टोलीले मङ्गलबार रातिदेखि बेपत्ता भएकाको मनाङ एयरको हेलिकप्टरमार्फत घटनास्थलमा पुगेर खोजी गरेका थिए । मृतक दुई जनाको शव बेनी ल्याइएको छ भने बाँकी तीन वटा शव पनि साँझसम्म बेनी ल्याइसक्ने प्रनाउ जिसीले बताउनुभयो । आठ स्लोकाभियाका, दुई जर्मन र १० नेपाली पर्यटक सहयोगीको बुधबारै उद्धार गरिएको थियो । बेपत्ताको खोजी गर्न गएको हेलिकप्टरले आज बिहान गेलेसीयर क्याम्पबाट अमेरिकी बरत राजन श्रीनिवास र भारतीय नागरिक पवन विष्टलाई उद्धार गरेर बेनी ल्याएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?