क्यान्सर पीडित मनिषाको सहयोगका लागि निकी कार्की मिट एण्ड ग्रिट
सिड्नी निवासी क्यान्सर पीडित नेपाली चेली मनिषा स्यांग्बोको सहयोगका लागि मंगलबार सिड्नीको ग्रानभिलस्थित हिमालयन रेष्टुरेन्टमा गायिका निकी कार्कीसँग मिट एण्ड ग्रिट कार्यक्रम आयोजना हुने भएको छ । मिट एण्ड ग्रिटबाट संकलित सबै रकम मनिषाको उपचारका लागि बनाइएको कोषमा खर्च गरिने भएको छ । यस कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अष्ट्रेलियाकी उषा बारियाले नेपाली चेली मनिषालाई अनलाईन सहयोग मार्फत ५ हजार संकलन भएको र अझै २५ हजार थप रकम आवश्यक भएकोले कार्यक्रम गर्न लागिएको बताउनुभयो । सन् २००९ मा अष्ट्रेलिया आएकी मनिषा यतिबेला क्यान्सर देखिएपछि उपचारको क्रममा वेष्टमिड अस्पताल भर्ना भएकी छिन् । उनी परिवारको जेठी छोरी हुन् । उनको हेल्थ कभरले किमोका निम्ति रकम उपलब्ध नगराउने भएपछि यतिबेला सहयोग संकलन थालिएको हो । पहिलो किमो गत अगष्ट एघारमा गरिएको र अझै ७ वटा किमो बाँकी नै रहेको बारियाले एमएनटीभीलाई जानकारी दिनुभयो । बारियाले एमएनटीभीसँग कुरा गर्दै भन्नुभयो, “हामीले यसअघि पनि साथीभाईलाई यस्तो समस्या पर्दा सहयोग गर्दै आएका हौं । एकपटक फेरि नेपाली समूदाय एक भएर मनिषालाई आफ्नो सपना पूरा गर्ने यात्रामा देखिएको अवरोध हटाउन सहयोग गर्न म विनम्र आग्रह गर्दछु ।” एनआरएन अष्ट्रेलियाले समेत उनको उपचारमा आयोजित कार्यक्रमलाई सफल बनाउने भन्दै सहभागिताका लागि आग्रह गरेको छ । यस मिट एण्ड ग्रिट कार्यक्रम निकी कार्कीले निशुल्क रुपमा गरेर सहयोग गरेकी छिन् । उनी तिरीमिरी नाईटमा सहभागी हुनका लागि अमेरिकाबाट केही दिन अघि सिड्नी आएकी हुन् । मिट एण्ड ग्रिटमा १५ डलर प्रवेश शुल्क राखिएको छ । यस विषयमा थप जानकारीका लागि उषा बारियालाई ०४३३६८६७११ मा वा रविन्द्र शर्मालाई ०४६६२१०६५४ मा सम्पर्क गर्न सकिनेछ ।