चार जना थपिए संविधानसभामा, प्राकृतिक विपत्तिले भएको क्षतिमा सरकार दुःखी


मन्त्रिपरिषद्को आजको बैठकले संविधानसभा सदस्यमा चारजनालाई मनोनयन गरेको छ । बैठकले राममाया बोगटी (नुवाकोट), जनकराज जोशी (तनहुँ), श्यामकुमार श्रेष्ठ (काभ्रे), जनकबहादुर बुढा (बझाङ)लाई संविधानसभा सदस्यमा मनोनयन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी गराउनुभयो । बैठकले मनाङमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको जानकारी गराउँदै मन्त्री रिजालले यसबारे गृहमन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन उद्धार केन्द्रलाई क्याविनेट बैठकमार्फत प्रधानमन्त्रीले पीडितहरूलाई तत्काल उद्धार एवम् सहयोग उपलब्ध गराउन निर्देशन दिनुभएको बताउनुभयो । पीडितको उद्धार एवम् सहयोग कार्यको अनुगमन एवम् सहयोगका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यको संयोजकत्वमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र नेपाल सरकारका मुख्य सचिव लीलामणि पोखरेल रहनुभएको समिति गठन गर्ने बैठकले निर्णय गरेको छ । समितिले उद्धार कार्यमा भएका कामहरू सम्बन्धमा अनुगमन गर्ने छ । यस्तै, बैठकले बाँकी अवधिका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा मुकेशराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री रिजालले जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?