झूठो समाचार दिने पाकिस्तानका १३ टेलिभिजनलाई जरिवाना गर्ने फैसला
पाकिस्तानको इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले विभिन्न १३ वटा टेलिभिजन च्यानललाई जरिवाना गर्ने फैसला गरेको छ ।
पाकिस्तान तहरिक ए इन्साफ (पीटिआई) पार्टीका नेता तथा पूर्व क्रिकेटर इमरान खानको तेस्रो विवाद भएको दाबीसहित समाचार प्रसारण गरेवापत ती टेलिभिजनलाई एकसाथ जरिवानाको फैसला भएको हो ।
फैसलामा १३ वटै टेलिभिजन च्यानललाई ५–५ लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिइएको छ । जरिवाना रकम नतिरेमा टेलिभिजन च्यानलको लाइसेन्स नै रद्द गरिने चेतावनीसमेत दिइएको छ ।
दुनियाँ न्यूज, जिओ न्यूज, नियो न्यूज, रोयल न्यूज, खैबर न्यूज, च्यानल–२४, च्यानल ९२, न्यूज वन, सच टिभी, रोजे न्यूज, च्यानल–५, जिओ तेज टेलिभिजन लगायत दण्डित भएका हुन् ।
ती टेलिभिजन च्यानलले गत जुलाइ १२ मा ९३ वर्षीय इमरान खानले लण्डनमा तेस्रो विवाह गरेको झुठो समाचार प्रशारण गरेको बताइएको छ ।
पाकिस्तानी इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणका अनुसार पत्रकारिताको मानकलाई कायम राख्न यस प्रकारको फैसला गरिएको हो । पिटिआइ पार्टीले उक्त समाचारको खण्डन गरे पनि ती टेलिभिजन च्यानलले इमरानको विवाह सम्बन्धी समाचार बारम्बार प्रशारण गरेको बताइएको छ ।