खेलाडीलाई बाँच्ने आधार तयार पार्ने खेलकुद मन्त्रीको प्रतिबद्धता
युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई बाँच्ने आधार तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा ‘४२ औं चेस ओलम्पियाड’ र ‘१६औं पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई मंगलबार बिदाइ गर्दै मन्त्री श्रीपाइलीले अब नेपाली खेलकुदलाई नीति विधिमार्फत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले खेलाडी भएकोमा गर्वको भावना सिर्जना गर्ने वातावरण तयार पार्ने बताउनुभयो ।
यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने १० खेलाडीसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । जसमा पाँच÷पाँच पुरुष तथा महिला छन् । पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् ।
त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २ गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको टोली पनि बुधबार नै त्यसतर्फ जाँदैछ । जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नेछन् । छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नेछन् ।