ललितपुरमा सुरु भयो पुष्प व्यापार मेला, ३० लाखको कारोबार हुने अनुमान
यस वर्षको गोदावरी पुष्प मेलासुरु भएको छ । मेलामा करिब रु ३० लाखबराबरको कारोबार हुने अनुमान फ्लोरीकल्चर एसोसिएसन नेपालले गरेको छ । गत वर्ष रु २१ लाखको कारोबार भएको फ्लोरीकल्चर एसोसिएसन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो । प्रदर्शनी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । विगतका वर्षहरूमा तीन दिनसम्म मात्र प्रदर्शनी सञ्चालन गरिँदै आएको भए पनि यस वर्ष व्यवसायीले समय बढाउन माग गरेकाले एक दिन बढाइएको हो । अध्यक्ष गैरेले हरेक वर्ष गुणात्मक फूलको उत्पादन बढ्दै गएकाले आगामी दिनमा एसोसिएसनले नेपाली पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा नेपाली फूललाई स्थापित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममको उद्घाटन गर्दै कृषि सचिव जयमुकुन्द खनालले पछिल्लो समयमा पुष्प व्यवसायले गुणात्मक वृद्धि गरेकामा खुसी व्यक्त गर्नुभयो । सचिव खनालले यस व्यवसायलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताउनुभयो मेलामा तिहारका लागि विशेष रूपमा प्रगोग हुने गोदावरी, मखमली, सयपत्रीलगायतका फूलको व्यापार बढी हुने भएकाले यी फूलहरू बढी मात्रामा राखिएको छ । नेपालमा उत्पादन हुने फूलले ८० प्रतिशत माग धान्ने गरेको भए पनि बाँकी २० प्रतिशत भारतबाट ल्याउने गरेकामा आगामी वर्षमा त्यसलाई पनि निर्मूल पार्नुपर्नेमा वनस्पति विभागका महानिर्देशक यमबहादुर थापाले जोड दिनुभयो । हरेक वर्ष नेपालमा करिब रु एक अर्ब १५ करोड बराबरको फूलको कारोबार हुने गरेको छ । जावलाखेलको फुटबल मैदानमा सुरु भएको मेलामा ३० वटा कक्ष राखिएको छ । प्रदर्शनीमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका नर्सरी र केही काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोट जिल्लाका नर्सरीबाट पनि फूल ल्याइएको बताइएको छ ।