नेपाल क्रिकेट संघमाथिको प्रतिबन्ध ९ महिनाभित्रै हट्ने


Cricket Toliअन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघमाथि लगाएको प्रतिबन्ध नौ महिनाभित्रै हटाउने बताएको छ । यो अवधिमा क्रिकेट संघको विधान पुनरावलोन गरी नयाँ निर्वाचन गरिसक्ने उसको लक्ष्य छ ।

नेपाल भ्रमणमा रहेका आइसीसीका सीइओ डेभिड रिचर्डसनले आइतबार पत्रकार सम्मेलन गरी सल्लाहकार समिति गठनको जानकारी दिनुभएको छ ।

समितिमा रहनेहरुको नाम भने दुई साताभित्र घोषणा गरिने भएको छ । यसको नेतृत्व अहिले अमर शेखले गर्नुहुने छ । आइसीसीका तत्कालीन ग्लोबल डाइरेक्टर टिम एण्डरसनको स्थानमा अर्को व्यक्ति आएपछि उहाँले यसको नेतृत्व गर्नुहुने छ ।

सल्लाहकार समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका सरोकारबाला पक्ष रहनेछन् । र, यसले क्यानको वर्तमान विधान पुनरावलोकन गरी संशोधन गर्ने कि नयाँ ल्याउने भनेर आइसीसीलाई सुझाव दिने रिचर्डसनले बताउनुभयो ।

सरकारले भने क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीसहितको छलफलमा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले यो प्रस्ताव राख्नुभएको थियो ।

नेपाली क्रिकेटमा विवाद देखिएपछि आईसीसीले झन्डै चार महिनाअघि निलम्बन गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?